स्थानीय तहहरुले पास गरे वार्षिक नीति, कार्यक्रम र बजेट

– कर्मचारी तथा करदाता सम्मानित
लोकखवर आर्थिक संवाददाता
२०८३ असार १४, आईतवार ०२:२९

बिदुर – नुवाकोटका स्थानीय निकायहरुले आगामी आर्थिक वर्षका लागि कार्यक्रम तथा बजेट पारित गरेका छन् । बजेटका क्रममा उत्कृष्ट कर्मचारी तथा करदातालाई सम्मानित गरिएको छ । विदुर नगरपालिकाको १९औँ नगरसभाबाट नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ । विदुर नपाको सभाहलमा सन्चालित १९औँ नगरसभाको पहिलो बैठकबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, योजना तथा बजेट सर्वसम्मत रूपमा पारित भएको छ ।

नगरसभाका सभाध्यक्ष तथा मेयर राजन श्रेष्ठद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र सोही आधारमा नगर उपमेयर प्रभा बोगटीद्वारा प्रस्तुत कुल एक अर्ब १६ करोड ६२ लाख ५० हजार एकसय ८० रुपैयाँ बराबरको अनुमानित आय–व्यय सहितको बजेट, योजना तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा अनुमोदन भएको हो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण, सुशासन, रोजगार तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रम पारित गरिएको मेयर राजन श्रेष्ठको भनाई छ । सोही अवसरमा मेयर राजन श्रेष्ठबाट चालु आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने सेवा निवृत्त कर्मचारीहरूलाई सम्मानसहित विदाइ गरिएको थियो ।

नगरसभामा नगरसभा सदस्यहरू, जनप्रतिनिधिहरू, कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । विदुर नपाले चालु आर्थिक वर्षको उत्कृष्ट कर्मचारीलाई सम्मान तथा सेवा निवृत्त कर्मचारीलाई सम्मान सहित बिदाई गरेको छ । सम्मानित भएकाहरुमा प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल बिदुर १२ कीे सचिव सुशीला अर्याल, सबै भन्दा बढी बेरुजु (सामाजिक सुरक्षा भत्ता बैंकमा रहेको राज्यको खातामा ल्याइएको) फरफारक गर्न सफल पन्जिकरण शाखा प्रमुख रमिता खड्का, सबैभन्दा बढी बेरुजु असुल गर्न सफल राजश्व शाखा प्रमुख रणबहादुर मगर, उत्कृष्ट काम गर्नु हुने योजना शाखा प्रमुख हरिप्रसाद प्याकुरेल, शिक्षा शाखा प्रमुख नवराज सापकोटा, लेखा शाखा प्रमुख प्रकाश बोगटीसहित बद्री रिजाल, दामोदर नेपाल, प्रशासन शाखा प्रमुख रामहरी खनाल (केहि दिन अघि निवृत्त), प्राविधिक शाखा प्रमुख उत्तम शाह रहेका छन् ।

यता, बेलकोटगढी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ । बेलकोटगढी नपाको दोस्रो अधिवेशन तथा आठौँ नगरसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित भएको हो । मेयर जगतबहादुर गुरुङद्वरा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, सीप विकास, रोजगारी सिर्जना, युवा सशक्तीकरण तथा प्रविधिमैत्री विकासलाई प्राथमिकतामा राखिएको छ । युवापुस्ताको भावना र आवश्यकतालाई आत्मसात गर्दै समृद्ध र आत्मनिर्भर नगर निर्माणको लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको मेयर गुरुङको भनाई छ ।

मेयर गुरुङद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न भएपछि उपमेयर शिवप्रसाद दाहालले आगामी आर्थिक वर्षका लागि ९३ करोड रुपैया बराबरको बजेट, योजना तथा कार्यक्रम प्रस्तुत गरेकोमा सर्वसम्मतीले पारित भएको हो । नगरसभाले वार्षिक नीति तथा कार्यक्रम र बजेट दुवैलाई सर्वसम्मत रूपमा पारित गरेको छ । अधिवेशनमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै नगरसभा सदस्यहरू, सामाजिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरू, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बेलकोटगढी नपामा कार्यरत उज्वल ढुङ्गाना र सोनुकुमार शाह उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन् । नपाको दोश्रो अधिवेशनको आठौँ नगरसभाको अवसरमा पछिल्लो एक आर्थिक वर्षको अवधिमा पालिकाभित्र कार्यरत कर्मचारी मध्ये सेवा प्रवाहमा उत्कृष्ट योगदान पुराएको भन्दै सहायक कम्युटर अपरेटर उज्वल ढुङ्गाना र सवईञ्जिनियर सोनुकुमार यादबलाई नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो । उत्कृष्ट कर्मचारीद्धयलाई नगरसभाको मेयर तथा सभाध्यक्ष जगतबहादुर गुरुङ, उपमेयर शिवप्रसाद दाहाल, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेलगायत कार्यक्रममा सहभागी अतिथीहरुबाट सयुक्त रुपमा सम्मान गरिएको हो ।

कार्यक्रममा मेयर जगतबहादुर गुरुङले सामाजिक सेवाको भावनासहित नगरपालिकाको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै नगरको समग्र विकास र समृद्धिका लागि निरन्तर सक्रिय रहेको बताए । उनले अगाडि भने “सामाजिक सेवाको भावनासहित नगरबासीको सेवामा समर्पित छु ।” आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उठेका जिज्ञासा तथा सवालहरूको जवाफ दिने क्रममा मेयर गुरुङले विभिन्न योजना तथा कार्यक्रम नगरमा भित्राउन संघ, प्रदेश तथा सम्बन्धित निकायहरूसँग निरन्तर पहल र संघर्ष गर्नुपरेको अनुभव सुनाए ।

आफूले नगरपालिकाबाट प्राप्त गर्ने सेवा–सुविधासमेत सामाजिक क्षेत्रमा खर्च गर्दै निस्वार्थ भावनाका साथ नगरबासीको सेवामा समर्पित रहेको उल्लेख गरे । बेलकोटगढी नगरको विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न आफू र नपाकोे टोली प्रतिबद्ध रहेको उनको भनाई छ ।

यसैवीच, दुप्चेश्वर गाउँपालिकाको १९ औँ गाउँ सभा अधिवेशनले वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ । समुन्द्रटारमा सम्पन्न अधिवेशनले गाउँपालिकाको समग्र विकास, सुशासन, जनउत्तरदायी सेवा प्रवाह तथा समृद्ध दुप्चेश्वर निर्माणका लागि महत्वपूर्ण बार्षिक नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रमहरू साथै महत्वपूर्ण ऐन पारित गरेको छ । यसका साथै गाउं अधिवेसनले गाउँपालिका भित्रबाट सगरमाथा आरोहण गरेका र उत्कृष्ट भएका राउतबेशी स्वास्थ्य चौकीलाई सम्मान गरेको छ । निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत समुन्नत र समृद्ध दुप्चेश्वर निर्माणमा सबैको साथ, सहयोग र सहभागिता रहेको दुपचेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ ।

उता, तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा दाङसिङमा वजेट पारित गर्दै सम्पन्न भएको छ । तारकेश्वर गापा १ दाङसिङ रयलछापस्थित नवनिर्मित गाउँ कार्यपालिकाको प्रशासकीय भवनमा गाउं अधिवेसनसम्पन्न भएको हो । गाउँसभाले गापा अध्यक्ष शिव अधिकारी अविरलद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम तथा उपाध्यक्ष हरिप्रसाद रिमालद्वारा प्रस्तुतथ वजेट सर्वसम्मत रूपमा पारित गरेको छ ।

गापाले नीति तथा कार्यक्रममा विद्यालय कर्मचारी र लेखापालको तलबमा गाउँपालिकाबाट उपलब्ध अतिरिक्त सुविधालाई निरन्तरता दिँदै मासिक तीनहजार रुपैया थप वृद्धि गर्ने, दाङसिङ माध्यमिक विद्यालयमा स्नातक तह सञ्चालनका लागि बजेट व्यवस्था गर्ने, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, टुहुरा तथा लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्तासँगै थप सहयोग उपलब्ध गराउने निर्णयसहित पारित भएको छ । यसका साथै विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि मासिक प्रगति समीक्षा, अतिरिक्त कक्षा सञ्चालन तथा डिजिटल शिक्षाको सुरुवात गर्ने, प्रविधिमैत्री शिक्षा विस्तार गर्दै ‘बुक फ्री डे’ र ‘स्किल अफ फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने, रङ्गशाला तथा खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिने, सडक, सिँचाइ तथा खानेपानी पूर्वाधार विकासलाई तीव्रता दिनेलगायतको निर्णय पारित भएको छ ।

साथै, महिला, ज्येष्ठ नागरिक तथा विपन्न समुदायको सीप विकास, स्वरोजगार र सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, पारित नीति तथा कार्यक्रममा शिक्षा, सामाजिक सुरक्षा, पूर्वाधार विकास, कृषि तथा सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । तारकेश्वर गापाले सामाजिक सुरक्षा भत्ता र बालपोषण भत्तामा गापाको तर्फबाट वार्षिक पांचहजार रुपैया वृद्धि गरेको छ । दुईहजार सातसय ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, टुहुरा र बालपोषणको लक्षित समूहका व्यक्तिहरूलाई खाईपाई आएको भत्ताका अतिरिक्त वार्षिक पांचहजार प्रोत्साहन तथा जीविकोपार्जन भत्ता प्रदान गरिने अध्यक्ष अधिकारीले बताए ।

अध्यक्ष अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको व्यवस्थाअनुरूप गापाभरिका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र टुहुरा र बालपोषण भत्ता पाउने लक्षित समूहका व्यक्तिहरूलाई खाईपाई आएको भत्ताका अतिरिक्त वार्षिक पांचहजार रुपैयाका दरले प्रोत्साहन तथा जीविकोपार्जन भत्ता उपलब्ध गराउने व्यवस्था मिलाउन सामाजिक पञ्जीकरण शाखालाई निर्देशन दिएका छन् । अधिकांश वृद्ध आमाबुबाहरू गाउँमै रहने र उनीहरूका सन्तति सहरी इलाकामा वा विदेशमा रहेका हुँदा प्रोत्साहन र जीविकोपार्जनका लागि गाउँपालिकाका तर्फबाट चालु खर्च र अन्य शिर्षकमा हुने खर्चलाई मितव्ययी बनाई स्रोत जुटाएर अतिरिक्त भत्ताको व्यवस्था गर्न लागिएको अध्यक्ष अधिकारीले बताए ।

उता, पञ्चकन्या गाउँपालिकाको २०औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ । नीति तथा कार्यक्रम र बजेट पारित गर्दै गाउँसभा अधिवेशन गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशको सभाध्यक्षतामा सम्पन्न भएको हो । अध्यक्ष तामाङले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा सोही आधारमा गाउँपालिका उपाध्यक्ष बिमला पाठककेसीले प्रस्तुत गरेको योजना तथा कार्यक्रमसहितको बजेट, आर्थिक ऐन र विनियोजन ऐन गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो ।

गाउँपालिकाको समग्र विकास, गुणस्तरीय सेवा सन्चालन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा गरिएको अध्यक्ष तामाङको भनाई छ । गाउँसभामा जनप्रतिनिधिहरूले विकास र समृद्धिको साझा लक्ष्य प्राप्तिका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यता, म्यागङ गाउँपालिकाको १८औँ गाउँसभा सर्वसम्मत रूपमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष आशावहादुर तामाङद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा सोही आधारमा गाउँपालिका उपाध्यक्ष सीता वाइवाले प्रस्तुत गरेको योजना, कार्यक्रम र बजेट गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो ।
गाउँपालिकाको समग्र विकास, सेवा सन्चालनमा सुधार, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको जनाइएको छ ।

गाउँसभामा जनप्रतिनिधिहरूले नीति तथा कार्यक्रम र बजेटमाथि आफ्नो धारणा राख्दै गाउँपालिकाको समृद्धि र विकासका लागि साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।सर्वसम्मत रूपमा पारित नीति तथा कार्यक्रम तथा बजेटले आगामी आर्थिक वर्षमा म्यागङ गाउँपालिकाको विकास यात्रालाई थप प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ । उता, तादी गाउँपालिकाको खरानीटारमा १९ औं गाउँ सभा अधिवेशन वजेट तथा कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ ।

गपा अध्यक्ष सन्तमान तामाङको सभाध्यक्षतामा सम्पन्न गाउँ सभा अधिवेशनको पहिलो बैठकमा पेश भएको आव २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम २०८३, आर्थिक विकास समितिका संयोजक तथा गाउँ सभा सदस्य सोनाम तामाङले पेश गरेको आर्थिक विद्येयक २०८३, सार्वजनिक लेखा समितिका संयोजक तथा गाउँ सभा सदस्य राजेन्द्र उप्रेतीले पेश गरेको तादी गापाको विनियोजन विद्येयक २०८३ सर्वसम्मत रुपमा पारित भएको छ । बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठद्वारा प्रस्तुत आव २०८३/०८४ को लागि तादी गापाको बजेट तथा कार्यक्रम २०८३ पेश हुनुको साथै चालु आवको न्यायिक कार्य सम्पादन प्रगति प्रतिवेदन सभामा पारित भएको छ ।

उता, नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिकाको १८औँ गाउँसभाको अधिवेशनले आगामी आव २०८३÷०८४ को नीति तथा कार्यक्रमहरु, बजेट, आर्थिक विधेयक, २०८३ र विनियोजन विधेयक, २०८३ पारित गर्नुका साथै विभिन्न विषयगत समितिका निर्णयहरु अनुमोदन गरेको छ । किस्पाङ गापाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल ४३ करोड ८३ लाख ३३ हजार ३ सय रुपैयाँको बजेट पारित गरेको छ । १८ औँ गाउँसभाको अधिवेशनमा गापाका कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् । गाउंसभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।

किस्पाङ गापाले आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु वर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने गरी आव २०८३/८४ का लागि ४३ करोड ८३ लाख ३३ हजार ३ सयको बजेट विनियोजन गरेको हो । प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ २९ करोड ८१ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १४ करोड १ लाख ४७ हजार रुपैयाँ छुट्टाइएको छ । किस्पाङ गापाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, उद्यमशीलता र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नयाँ कार्यक्रमसहित बजेट पारित गरेको छ ।

गाउँपालिकाले पहिलोपटक अस्थायी तथा करार शिक्षकलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्ने, विपन्न दलित विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने तथा एचए र फार्मेसी अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना र सामाजिक संरक्षणका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । बजेटअनुसार गाउँपालिकाले अस्थायी तथा करार शिक्षकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने, विपन्न दलित समुदायका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने तथा एचए र फार्मेसी अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ ।

यसलाई गाउँपालिकाले जनशक्ति उत्पादन र सामाजिक सुरक्षाको क्षेत्रमा नयाँ पहलका रूपमा अघि सारेको गाउँसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले वताए । उनका अनुसार बजेटमा स्वास्थ्य चौकीबाट एमबीबीएस चिकित्सक सेवा सञ्चालन, ज्येष्ठ नागरिकको घरदैलो स्वास्थ्य परीक्षण, पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) स्क्रिनिङ, टिकाको जीव निःशुल्क ढुवानी तथा परीक्षण सेवा, परिवार स्वास्थ्य प्रोफाइल निर्माण र विपन्न तथा अति असक्त नागरिकका लागि आकस्मिक उपचार सहयोगसमेत समावेश गरिएको छ । शिक्षातर्फ किस्पाङ बहुप्राविधिक शिक्षालयको व्यवस्थापन, बस खरिद, बहुभाषा बहुसंस्कृति कक्षा सञ्चालन, ‘रुम टु रिड’सँगको सहकार्यमा पठन–सीप विकास, विद्यालयमा अध्यक्ष कप फुटबल प्रतियोगिता तथा प्रतिभा खोजी कार्यक्रम सञ्चालन गरिने छ ।

किस्पाङमा कृषि तथा पशुपालन क्षेत्रमा किस्पाङ कृषि रूपान्तरण कार्यक्रम, जैविक मल कारखाना स्थापना, माटो परीक्षण, किसान सूचीकरण, कृषि तथा पशुपन्छी क्षेत्रको डिजिटलाइजेसन, उत्पादनमा आधारित दूध बिक्री अनुदानको निरन्तरता, युवालाई लक्षित कृषि स्टार्टअप कार्यक्रम तथा कृषिमा उद्यम विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । युवालाई उद्यमशीलतामा आकर्षित गर्न स्टार्टअप सिड ग्रान्टअन्तर्गत ५० प्रतिशत अनुदान, नयाँ लघु उद्यम सिर्जना, पुराना उद्यमीलाई प्रविधि हस्तान्तरण, वैदेशिक रोजगारीबाट फर्किएकालाई सहुलियतपूर्ण कर्जा ब्याज अनुदान तथा स्टार्टअप प्रवद्र्धनका कार्यक्रमसमेत बजेटमा समेटिएका छन् ।

पूर्वाधारतर्फ गाउँपालिकास्तरीय सभाहल, बहुउद्देश्यीय भवन, वडा कार्यालयको डकुमेन्टेसन, पूर्वाधार शाखा स्थापना, परियोजना ट्रयाकिङ तथा डिजिटल सूचना पाटी, सार्वजनिक स्थानमा सीसीटीभी जडान र गाउँपालिकाको डिजिटल प्रोफाइल निर्माण गर्ने योजना तय गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापनअन्तर्गत स्थानीय जलवायु अनुकूलन योजना, वन डढेलो नियन्त्रण तथा सचेतना, वातावरण तथा विपद् सूचना प्रणाली सञ्चालन र किस्पाङ पर्यटन प्रवद्र्धन कार्यक्रम पनि बजेटमा समावेश छन् ।

यसैगरी, गाउँपालिकाले एक स्वास्थ्य कार्यक्रम, गृहिणी महिलाका लागि लागत साझेदारी, फिर्के बहुउद्देश्यीय व्यायाम सञ्चालन, कर्मचारी कल्याणकारी कोष स्थापना, मनकामना वडा आइड कार्यक्रम, खानेपानीको गुणस्तर परीक्षण तथा सामुदायिक साझेदारीका विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ । किस्पाङ गापाले सार्वजनिक गरेको बजेटले सामाजिक सुरक्षा, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, कृषि आधुनिकीकरण र स्थानीय उद्यम विकासलाई केन्द्रमा राखेर समग्र विकासको आधार तयार गर्ने लक्ष्य लिएको जनाएको छ ।

यससंगै नुवाकोटका स्थानीय तहहरुले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । स्थानीय तहको अधिवेसनको वैठकले बजेटसहित वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ ।

 

 


सर्वाधिक रुचाइएको