पिउने पानीको महशुल मिनाहा
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको पिउने पानीको संरचनजामा क्षति गरेपछि पानीको महशुल मिनाहा गरिएको छ । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले भदौ महिनाभरि खानेपानी सेवा सञ्चालन गर्न नसकिएको जनाउंदै उक्त महिनाको न्यूनतम महसुल छुट दिने निर्णय गरेको हो । संस्थाले गत भदौ १० गते आएको प्रलयकारी बाढीका कारण उक्त अवधिमा सेवा सञ्चालन गर्न नसकेकोले महसुल छुट गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष संन्जिवबहादुर श्रेष्ठले बताए ।

उनका अनुसार संस्थाले उपभोक्तालाई १५ युनिट बराबरको न्यूनतम महसुल छुट दिने निर्णय गरेको हो । बिनासकारी बाढीका कारण पानीको स्रोत र पाइपलाइनमा क्षति पुगेपछि नियमित सेवा दिन नसकिएकाले यो सुविधा दिइएको संस्थाका व्यस्थापक राजकुमार तिमिल्सिनाले बताए । उनका अनुसार बाढीका कारण सेवा अवरुद्ध भएको महिनामा उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी न्यूनतम महसुल छुट दिने निर्णय गरिएको हो ।

मिनाहाको उक्त निर्णय विदुर नगरपालिका क्षेत्रका खानेपानी उपभोक्तालाई राहत मिलेको संस्थाका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । संस्थाको कार्यसमिति बैठकले उक्त निर्णय गरेको सचिव रघुनाथ रिमालले जानकारी दिए ।













































