बाढी पीडितलाई भान्छाका सामग्रीहरु
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा ठुलो मात्रामा जनधनको क्षति गरेको छ । बाढी पीडितहरुलाई नुवाकोटको विभिन्न स्थानमा राहत वितरण गरिएको छ । प्रलयकारी बाढीबाट प्रभावितहरुलाई सहयोग पु¥याउने उद्देश्यले विदुर नगरपालिका–६ मा प्रभावित परिवारलाई चार्डपर्वलाई लक्ष्यित गर्दै राहत वितरण गरिएको हो ।

बाढीका कारण प्रभावित स्थानीय बासिन्दालाई दैनिक जीवनयापनमा सहजताका लागि ५० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको हो । भारतको हरियाणास्थित सेक्टर–१६ मा रहेको भरत स्केच प्रालि, थक्राल ग्रुपका वरिष्ठ ड्रोन इन्जिनियर प्रशान्तकुमार सिंहको नेतृत्वमा राहत वितरण गरिएको हो । उक्त अभियानअन्तर्गत दैनिक उपभोग्य सामग्री तथा भान्सामा आवश्यक सामग्री प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो ।

विपद्का कारण समस्यामा परेका परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाई छ । स्थानीय युवा विष्णुप्रसाद सापकोटाको समन्वयमा प्रशान्तकुमार सिंह, अमिरराज खरेल, क्रिष्टिना भुजेल, दीपक हेङ्गजु र निशान्त सिंहलगायतले उक्त सामग्रीहरु हस्तानतरण गरेका हुन् ।
बाढीबाट प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन मानवीय सहयोग आवश्यक हुने भएकाले राहत वितरणले परिवारलाई दैनिक आवश्यक सामग्री जुटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रभावित समुदायसँग सहकार्य गर्दै राहत तथा सहयोगका गतिविधिमा सहभागी हुनु सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धताको उदाहरणसहित गरिएको अभियानले विपद् प्रभावित नागरिकलाई सहयोग गर्न व्यक्ति तथा संस्थाबीच सहकार्य र एकताको आवश्यकता रहेको सन्देशसमेत दिएको प्रशान्तकुमार सिंहको भनाई छ ।














































