बाढीपीडितहरुको उचित न्याय नपाएको गुनासो

– बाढी पीडित सरोकार समिति गठन
लोकखवर विशेष संवाददाता
२०८३ कार्तिक १२, बुधबार २३:०१

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढी आएको दुई महिना वितिसक्दा पनि उचित न्याय नपाइएको बाढी पीडितहरुले गुनासो गरेका छन् । उनीहरुले बिदुरमा भेला गरेका छन् । बाढी पीडितहरुको भेलाले भोटेकोशी बाढी पीडित सरोकार समिति गठन गरेका छन् । उचित रुपमा न्याय हुन नसकेको जनाउंदै न्यायको लागि एकजुट हुँनुपरेको उनीहरुले गुनासो गरेका छन् ।बिदुरमा बाढी पीडितहरुको सामूहिक भेला गरि सरकार समक्ष पुनस्र्थापनासंग समन्धित बिषयमा न्याय माग्न आफ्नो अगाडि सारेका छन् ।

उनीहरुले तीनै तहको सरकार तथा सरोकारवाला कार्यालयमा बाढी पीडितको एजेन्डा राख्ने तयारी गरेका छन् । बाढी पीडितहरुले भोटेकोशी–त्रिशूली बाढीपीडितको पुनर्निर्माण, पुनर्वास तथा राहतका विषयमा सरकारलाई दबाब दिन नुवाकोटमा ‘भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति’ गठन गरेका हुन् । विदुरमा मंगलबार भएको बाढी पीडितहरुकोे भेलाले बिदुर नगरपालिका ५ देवीघाटका सूर्यबहादुर कँडेलको संयोजकत्वमा ३३ सदस्यीय समिति सरोकार समिति गठन गरेका छन् ।

समितिको सहसंयोजकमा बिदुर नपा १ ढुंगेका सुरेन्द्रराज केसी, बिदुर नपा ७ का रामहरि अधिकारी र बिदुर नपा १० का अष्टमान डंगोलठ रहेका छन् । सचिवमा बिदुर नपा १ का नवीन्द्रमान प्रधान, सहसचिवमा किरण अधिकारी र कोषाध्यक्षमा शम्भु सिग्देल चयन भएका छन् । समितिका सदस्यहरूमा नारायण श्रेष्ठ, महेन्द्र श्रेष्ठ, सुदीप अधिकारीलगायत रहेका छन् । त्यस्तै सल्लाहकार समितिमा पूर्वसांसद नारायणप्रसाद खतिवडा, राजेन्द्र श्रेष्ठ, भिक्षु मैत्री, अमजद आलम र दिलवहादुर गुरुङलगायत उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूलाई समेटिएको छ ।

उक्त सरोकार समितिले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रका बाढी पीडितका समस्या पहिचान गरी सम्बन्धित पक्षसँग छलफल गर्ने र पुनर्निर्माण तथा पुनर्वासको काम शीघ्र अघि बढाउन सरकारलाई दबाब सिर्जना गर्ने जनाएको छ । बाढीपछि सरकारले घोषणा गरेका राहत तथा पुनर्निर्माणका काममा ढिलासुस्ती भएको, कतिपय वास्तविक पीडितले अझै राहत पाउन नसकेको तथा दीर्घकालीन रूपमा पुनर्वासको समस्या सबैभन्दा चुनौतीपूर्ण बनेको समितिका संयोजक सुर्यवहादुर कडेलको भनाई छ । उनका अनुसार समितिले प्रभावित क्षेत्रमा पुगेर पीडितका वास्तविक समस्या संकलन गर्ने र त्यसलाई सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्ने तयारीसमेत गरेको छ ।

यसका लागि प्रभावित वडाहरूमा वडा तहका सरोकार समिति गठन गर्ने निर्णय गरिएको छ । बाढीबाट नुवाकोटको बेत्रावती, त्रिशूली, ढुंगे, तुप्चे, सोले, शान्तिवजार, देवीघाट, महादेवफाँटलगायतका क्षेत्र प्रभावित भएका छन् । बाढीका कारण अधिकांशका घर, व्यवसाय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।
विनासकारी बाढी गएको दुई महिनासम्म पनि पुनर्निर्माण र पुनर्वासको काम अपेक्षित गतिमा अघि बढ्न नसकेको पीडितहरूको गुनासो छ । गत भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावित विदुर नपाको तुप्चे, बेत्रावती, त्रिशूली, देवीघाट हुँदै बेलकोटगढी नपा, तारकेश्वर र किस्पाङ गापामा ठुला प्रभावित वनाएको छ ।

बाढी पीडितहरुको साझा मागलाई सशक्त रूपमा अघि बढाउँदै बाढी पीडितहरूबीच एकता, सहकार्य र साझा धारणा निर्माण गर्नु मुख्ये आवश्यकता रहेको समितिका सहसंयोजक सुरेन्द्रराज केसीले जानकारी दिए । उनका अनुसार त्यसका लागि प्रभावित क्षेत्रको प्रतिनिधित्व गर्ने सामुहिक नेतृत्व तयार गरी पुनर्निर्माण, पूर्वाधार विकास र व्यवस्थित पुनर्वासका विषयमा एकीकृत आवाज उठाउनु यस पहलको मुख्य उद्देश्य हो । बाढीपीडितका समस्या र आवश्यकतालाई स्थानीय तहदेखि प्रदेश सरकार हुँदै सङ्घीय सरकारसम्म पु¥याउने, सम्बन्धित निकायलाई जिम्मेवार बनाउने र पुनर्वासको कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन निरन्तर दबाब सिर्जना गर्ने लक्ष्य यस अभियानले राखेको अर्का सहसंयोजक अष्टमान डंगोलको भनाई छ ।

उनका अनुसार हाम्रो उद्देश्य एउटै छ—बाढीपीडितको सुरक्षित भविष्य, व्यवस्थित पुनर्वास र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण। हाम्रो आवाज साझा हो, हाम्रो माग साझा हो र हाम्रो सङ्घर्ष पनि साझा हुनुपर्छ । बाढिपिडितलाई सरकारले दिन्छु भनेको सहयोग नआएको, राहत तथा पुनर्निर्माणमा काम तिब्र गतिमा अघि नबढनु राजनीतिक गन्ध रहेको नुवाकोट उद्योग बाणिज्य सघका अध्यक्ष राजेन्द्र श्रेष्ठको भनाई छ । उनका अनुसार उक्त सरोकार समितिले राहत वितरणमा देखिएका समस्या, क्षतिको उचित मूल्यांकन, पुनर्निर्माणको गति र प्रभावित परिवारको पुनर्वासलाई मुख्य एजेन्डा बनाएर सरकार तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय र दबाबमूलक कार्यक्रम अघि बढाउने सशक्त हुने उनको भनाई छ ।


सर्वाधिक रुचाइएको