७३ जना विदेशी नागरिकसहित २७२३ वेपत्ता
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटका चार वटा स्थानीय तह प्रभावित पारेको छ । बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउंपालिकामा ठुलो जनधनको क्षति गरेको छ । बाढीपछि तीनहजार ६ सय ३० जनाको उद्घार गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीवाट त्रिशूली नदीमा आएको प्रलयकारी बाढीपछि नुवाकोटमा सुरक्षा तथा सरोकारवाला निकायको विशेष जनशक्ति उद्घार तथा विपद् व्यवस्थापनमा परिचालित भएको प्रशासकिय अधिकृत रुपेशप्रसाद नेपालको भनाई छ ।

बाढी प्रभावित क्षेत्रबाट नेपाली तथा विदेशी नागरिक गरी तीनहजार ६ सय ३० जनाको उद्घार गरिएको छ । उद्घार गरिएकामध्ये एक हजार नौ सय ८५ पुरुष र एक हजार तीन सय ८७ जना महिला नेपाली नागरिक छन् । दुईसय ३२ विदेशी पुरुष र २६ विदेशी महिलाको उद्घार गरिएको सरकारी विवरणमा उल्लेख छ । तर, बाढीपछि नुवाकोट जिल्लामा बसोबास गर्ने सात सय ४८ जना अभैm बेपत्ता रहेको तथ्याङक प्रहरीको विवरणमा समावेश छ ।

बेपत्तामध्ये चार सय ६९ पुरुष र दुईसय ६ महिला नेपाली नागरिक छन् । त्यस्तै, ५४ विदेशी पुरुष र १९ विदेशी महिला बेपत्ता रहेको प्रहरी नायव उपरिक्षक इकबाल हवारीले जानकारी दिए । उनका अनुसार बाढीका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा पहिचानका लागिसमेत प्रहरीले सक्रियता देखाएको छ । नुवाकोटमा फेला परेका दुई सय पाँच शव मध्ये एक सय ८० शव त्रिवि शिक्षण अस्पताल पठाएको थियो । ६ वटा शवको डीएनए परीक्षणका लागि नुवाकोटबाट नमूना निकालिएको विवरणमा उल्लेख छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट २० जना र नुवाकोट जिल्लाबाट १९ जनाको सनाखत भएको जनाइएको छ । रसुवामा फेला परेका शवमध्ये ५९ वटाको डीएनए परीक्षणका लागि नुवाकोटबाट नमूना निकालिएको छ । नुवाकोटमा एक सय सात वटा शवको व्यवस्थापन गरिएको र एउटा शवबाँकी रहेको विवरणमा उल्लेख छ ।
सनाखतपछि ११ शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।

बाढी प्रभावितहरुलाई राहत तथा अन्य सरकारी सेवा उपलब्ध गराउने प्रयोजनका लागि प्रहरीले आवश्यक कागजात सम्बन्धि सिफारिस र मुचुल्कासमेत तयार गरेको छ । नागरिकता, हातहतियार नवीकरण, विपद् घटना तथा अन्य प्रयोजनका लागि तीन महिनामा आठसय १० वटा मुचुल्का तथा सिफारिस जारी गरिएका छन् । तीमध्ये ६ सय २१ वटा त्रिशूली बाढीसम्बन्धी सिफारिस रहेको जिल्ला प्रहरी कार्यालयको विवरणमा उल्लेख छ ।












































