श्रद्धान्जली तथा द्विप प्रज्वलन

– सामूहिक एकतामा जोड
लोकखवर विशेष संवाददाता
२०८३ कार्तिक २४, सोमबार २१:३३

बिदुर – सांढे दुई महिना अगाडिको अकल्पनीय बाढीमा परि ज्यान गुमाएकाहरुको सम्झनामा नुवाकोटको बट्टारमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । विपत्तिमा सामूहिक एकता र सहकार्यमा जोड दिदै मुल सडकमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरिएको हो । विगतका वर्षहरूमा विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको बट्टार युवा क्लबले यस वर्ष विपत्तिबाट सिर्जित पीडालाई आत्मसात् गर्दै आफ्नो नियमित सांस्कृतिक कार्यक्रम स्थगित गरी श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गरेको हो ।

गत भदौ १० गते आएको प्रलयकारी बाढीका कारण ज्यान गुमाएका तथा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको आयोजक बट्टार युवा क्लवले जनाएको छ । दुःखद समयमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित सम्पूर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ । कार्यक्रममा सहभागीहरुले विपदमा सामूहिक एकता, भाइचारा, सहकार्य तथा सद्भावमा जोड दिएका छन् । विपदमा उत्सवभन्दा मानवीय पीडामा साथ दिनु महत्वपुर्ण विषय भएको स्थानीय युवा उशनमान श्रेष्ठले वताए ।

उनले यस वर्ष झिलिमिली र रमझमभन्दा दिवंगत आत्माहरूको स्मृतिमा सम्झनामा बालिएको सामूहिक द्विप नै हाम्रो सच्चा श्रद्धा भएको वताए । यसैगरि, भोटेकोशी बाढीमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै नुवाकोटस.गै जोडिएको उत्तरगयामा दिवंगत भएका व्यक्तिहरूको चिरशान्तिको कामना गर्दै विशेष शान्ति तथा मोक्ष प्रार्थना गरिएको छ । उत्तरगया गाउँपालिका ५ को कार्यालय अगाडि सांढे दुई महिना अगाडिको बाढीमा परी दिवंगत भएका सम्पूर्ण आत्माहरूको चिरशान्तिको कामना गर्दै विशेष शान्ति तथा मोक्ष प्रार्थना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सात जना पण्डितबाट शास्त्रीय विद्यिधअनुसार पाठ तथा विभिन्न वैद्धिक मन्त्रहरूको वाचन गरिएको थियो । उक्त कार्यक्रममा बाढीबाट आफ्ना परिवारजन गुमाएका परिवारका सदस्यहरूको समेत सहभागिता रहेको थियो । आफ्ना सन्तान तथा आफन्त गुमाएका परिवारजनले सामूहिक रूपमा दिवंगत आत्माहरूको चिरशान्ति, आत्माको सद्गति तथा मोक्ष प्राप्तिको कामना गर्दे विपदको समयमा सबै समुदाय एकजुट भएर मानवीय संवेदना, आपसी एकता, समानता र सामाजिक सद्भाव प्रकट गरेको स्थानीय सामाजिक युवा श्रीकृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार विपत्तिको पीडावाट सामूहिक रुपमा सहकार्य गर्नुपर्ने सहभागीहरुले जोड दिएका छन् ।


सर्वाधिक रुचाइएको