सबै दीर्घरोगीको निःशुल्क पीसीआर परीक्षण गर्दै बुटवल उपमहानगर
मकवानपुर । बुटवल उपमहानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने दीर्घरोगका बिरामीहरूको कोरोना भाइरस संक्रमणसम्बन्धी निःशुल्क पिसिआर परीक्षण गर्ने भएको छ ।
नेपाल सरकारबाट तोकिएका क्यान्सर, मिर्गौलाको डाइलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीहरूको निःशुल्क पीसीआर परीक्षण हुनेछ ।
नगरप्रमुख शिवराज सुवेदीका अनुसार यस्तो सुविधा बुटवल उपमहानगरपालिकामा बसोबास गर्नेहरूले पाउनेछन् । यो सुविधा लिन सेवाग्राहीले आफू बसोबास गरेको वडा कार्यालयको सिफारिस र रोगको उपचार गराएका कागजात पेश गर्नुपर्नेछ । यसका लागि उपमहानगरपालिकाका स्वास्थ्य कर्मचारीलाई जिम्मेवारी तोकेको छ ।
यस्ता रोगीहरूको स्वाब संकलनका लागि वडा नम्बर ११ को बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा र वडा नम्बर १४ को सेमलार स्वास्थ्य चौकीमा व्यवस्था गरिएको उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालद्वारा जारी सूचनामा जनाइएको छ ।
बुटवल उपचार गराइरहेका दीर्घरोगका बिरामीहरूको यकिन तथ्यांक आउन नसके पनि वडागत सिफारिसका आधारमा करिब २ सयको संख्यामा रहेको अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।
उपमहानगरपालिकाले नियमित डायलाइसिस गराउने मिगौला रोगीहरूको निःशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था गरेको थियो । यसैहगरी,सडकमा रात बिताउन बाध्य बेसाहराहरूको पनि उद्धार गरी निःशुल्क पीसीआर परीक्षण गरी मानव सेवा आश्रममा पठाएको थियो ।
लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसाहराहरूको उद्धार गरेको नगरप्रमुख सुवेदीले बताए । बुटवल नगरभित्र कोही पनि अशक्त र दीर्घ रोगीहरू कोरोनाको संक्रमणमा नपरून् भन्ने उद्देश्यले निःशुल्क पीसीआर परीक्षण गरिएको नगरप्रमुख सुवेदीले बताए ।
बुटवल उपमहानगरले कोरोना महामारीबाट नागरिकहरू बचाउने गरी पीसीआर परीक्षण फराकिलो र आवश्यकताअनुसार निःशुल्क गरेको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । उनले लैङ्गिकहिंसामुक्त नगरको कार्ययोजनाअनुरूपका पनि काम भइरहेको बताइन् ।खबरहब डटकमबाट