औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : प्रधानमन्त्री ओली

लोकखबर
२ आश्विन २०७७, शुक्रबार १३:३६

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।

‘अ ट्रिटिज अन दी कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचनमा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका हुन् । व्यवहारिक रुपमा संविधान अपूर्ण रहेको देखिए संविधानको संशोधन गर्न सकिने उनको भनाइ छ । जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताए ।

उनले भने, ‘‘केही केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला । जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ । त्यस्तो पर्‍यो भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील विषय होइन ।’’

संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए । उनले आवश्यक देखिए संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने पनि बताए । उनले भने, ‘संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर बिनाबहकाउ तयारी रहनुपर्छ ।’

पाँचौं संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६४६ पृष्ठको ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन गरेका हुन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री निवासमा भएको पुस्तक विमोचनमा भौतिक दूरी कायम गरिएको थियो ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*