सरकार र डा. केसीका प्रतिनिधिबीच पुन: वार्ता सुरु भएन
मकवानपुर । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच शुक्रबार बस्ने गरी टुंगिएको वार्ता अझै सुरु भएको छैन । बिहीबार सहमतिमा नपुगेपछि पुन:शुक्रबार बस्ने गरी वार्ता टुंगिएको थियो । डा. गोविन्द केसी पक्षका वार्ता समिति सदस्य ओमप्रकाश अर्यालले सरकारका वार्ता समितिका प्रतिनिधिले अहिलेसम्म समय नतोकेको बताए । उनले भने, “हामी त वार्ता गर्न तयार छौं ।” बिहीबार गरिएको वार्ता सकारात्मक रहेकोसमेत उनले जानकारी दिए ।
उता, शिक्षासचिव गोपीनाथ मैनालीले अहिले अनौपचारिक छलफलमा रहेका बताए । उनले भने, “औपचारिक रुपमै वार्तामा आज कतिबेला बस्ने तय भइसकेको छैन ।” उनका अनुसार अब बस्ने वार्ता निष्कर्षसहितको हुनेछ ।
यता, डा. केसीको स्वास्थ्य अवस्था निकै जटिल बन्दै गएको उनका सहयोगी तोसिमा कार्कीले बताइन् । उनका अनुसार डा. केसीको रक्तचाप र सुगरको मात्रा अत्यधिक घट्नेलगायत अन्य समस्यासमेत थपिँदै गएको छ ।
डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली छ, जसमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा. लोचन कार्की र ओमप्रकाश अर्याल छन् ।
सरकारका तर्फको वार्ता टोलीमा शिक्षासचिव मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सह-सचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन् ।बाह्रखरी डटकमबाट