परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त
मकवानपुर । भरतराज पौड्याल परराष्ट्र सचिवमा नियुक्त भएका छन् । पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए ।
वैरागीलाई सरकारले मुख्य–सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई नियुक्त गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । वरिष्ठतालाई नै कायम राखेर पौड्याललाई जिम्मेवारी दिइएको हो ।
यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेका पौड्याल परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा काम गरिसकेका छन् ।
यसअघि तीन जनाको नाम सचिवको रुपमा अगाडि आए पनि सरकारले वरिष्ठतालाई नै आधार मानेर सचिव नियुक्त गरेको हो ।
भर्खरै पाकिस्तानका लागि नेपालको राजदूतको जिम्मेवारी सम्हालेर आएकी सहसचिव सेवा लम्साल र न्युर्योकस्थित नेपालको संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगका प्रमुख तथा सचिव अमृतकुमार राई पनि सचिवका दाबेदारका रुपमा थिए ।
पौड्याल सचिव भएसँगै राईले आफ्नै जिम्मेवारी सम्हालिरहने छन् भने लम्साललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको छ । यसअघि पौड्यालले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।खबरहब डटकमबाट