स्थानीय तहहरुले भौतिक विकासमा फड्को मारेका छन् : प्रमुख खुलाल
मकवानपुर । जिल्ला सम्वनय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल सहितको टोलीले मकवानपुरको भीमफेदी गाउँपालिकाको अनुगमन गरेको छ ।
समन्वय टोलीले मकवानपुरको सबै स्थानीय तहको पहिलो चौमासिक अनुगमन गर्ने कार्य अन्तर्गत भीमफेदी गाउँपालिकामा पनि अनुगमन गरेको हो ।
पालिका अनुगमन गर्दै प्रमुख खुलालले मकवानपुरका स्थानीय तहहरुले भौतिक विकासमा फड्को मारेको बताए । अहिले सबैतिर भौतिक विकासको लहर नै चलेको बताउँदै प्रमुख खुलालले यसलाइ केही परिमार्जन गरी भौतिक विकाससंगै समग्र विकासमा स्थानीय तहको ध्यान जानुपर्ने बताए ।
प्रमुख खुलालले भौतिक विकासले मात्र जनताको गाँस, बाँस कपासको ग्यारेन्टी नभएकोले समग्र विकासमा ध्यान दिन सबै स्थानीय जनप्रतिनिधिलाई प्रमुख खुलालले आग्रह गरे । देश सुहाउदो आवश्यकता र स्थानीय परिवेश अनुसारको सरोकारवालालाई समेटिने खालको विकासको आवश्यकता भएकोले एकल ढाँचाबाट मात्र अगाडी नबढ्न जनप्रतिनिधि र कर्मचारीलाई उनले आग्रह गरे । यसका लागि दीर्घकालीन र रणनीतिक योजना बनाएर अगाडी बढ्नुपर्न धारणा राख्दै खुलालले दिगो विकासको लक्ष हासिल गर्ने गरि विकासको कार्ययोजना बनाएर अगाडी बढ्न आग्रह गरे । प्रमुख खुलालले दिगो र भरपर्दो विकासका लागि स्थानीय तहहरुले विकास र पद्दतीमा परिवर्तन गरी विकासको अवधारणालाई फरक ढंगबाट सोच्न जरुरी रहेको बताए । उनले दिगो र भरपर्दो विकास संगै मानिसको चेतनामा परिवर्तन गरी सभ्य समाज निर्माणमा पनि स्थानीय तहहरु लाग्नुपर्ने सुझाए ।
अनुगमन तथा छलफलमा जिल्ला समन्वय समितिका उप-प्रमुख भगवती पुडासैनी, भीमफेदी गाउपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, जिसस सदस्य देवराज रिमाल, वडा अध्यक्षहरु समन्वय अधिकारी, आनन्दराज पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, गाउपालिकाका कर्मचारी लगायतको उपस्थिती थियो ।