ओलीलाई प्रचण्डको आग्रह- कर्णाली प्रदेशको समस्या समाधान होस्

मकवानपुर ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आजको वार्ता, छलफल निष्कर्षविहीन बन्न पुगेको छ ।
कर्णालीमा देखापरेको समस्या पन्छाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बिहान ९ बजेदेखि बालुवाटारमा छलफलमा बसेका थिए । छलफल निचोडमा पुग्न नसकेको बालुावाटारनिकट स्रोतले जानकारी दियो ।
“आजको भेटमा सकारात्मक निष्कर्ष निष्कन सकेन । प्रधानमन्त्रीलाई अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ। स्थायी कमिटी बैठकको मर्म, भावना, सचिवालय बैठकको म्यान्डेटअनुसार समाधान होस् भनेर आग्रह गर्नुभएको छ,” प्रचण्ड स्रोतले भन्यो ।
पूर्वमाओवादी केन्द्रका नेताहरूले केन्द्रका नेताहरूको निर्देशनअनुसारै प्रदेशका सांसद अविश्वासको प्रस्ताव दर्ता गर्ने तहमा पुगेकाले ओलीले नै यसको पहल लिनुपर्ने बताउँदै आएका छन् । पहल नलिए एकता नै भताभुङ्ग हुने, लहरो तान्दा पहरो खस्ने सम्भावना रहेको पनि उनीहरूले औंल्याएका छन् । बाह्रखरी डटकमबाट