राष्ट्र बैंकले भन्यो- यसपालिको दसैंमा नयाँ नोट साटिँदैन

मकवानपुर । नेपाल राष्ट्र बैंकले यसपालिको दसैंमा नयाँ नोट सटही नगर्ने जनाएको छ ।
कोभिड-१९ संक्रमणको जोखिमका कारण दसैंलक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दसैंमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भिड हुन गई संक्रमणको जोखिम झनै बढ्ने भएकाले यसपटकको दसैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको बताए ।
यस्तै अन्य बैंकहरुमा समेत संक्रमणको जोखिम उच्च भएकाले दसैंका लागि लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था नगरिएको पनि उनले बताए । यद्यपि आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सकिने अवस्था भने रहेको प्रवक्ता भट्टले बताए ।
यसअघिका वर्षहरुमा दसैंमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै आएको थियो । जुन एक किसिमले प्रचलनका रुपमा पनि स्थापित भइसकेको छ । राष्ट्र बैंकले ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र सय रुपैयाँ दरका नयाँ नोटहरु दसैंका बेलामा सटही गर्दै आएको थियो । यस वर्ष भने राष्ट्र बैंकसँग नयाँ नोट मौज्दात भए पनि कोभिड संक्रमणको जोखिमका कारण नोट सटही असम्भव भएको हो ।बाह्रखरी डटकमबाट