सशस्‍त्र प्रहरीले पनि कोरोना महामारीका कारण दसैं बिदा नपाउने

लोकखबर
२८ आश्विन २०७७, बुधबार १२:२०

मकवानपुर ।नेपाल प्रहरीपछि सशस्‍त्र प्रहरी बलमा कार्यरत कर्मचारीले पनि दसैंमा बिदा नपाउने भएका छन् । कोरोना भाइरसविरुद्धको अभियान र शान्ति सुरक्षामा परिचालन हुनुपर्ने भएकाले सशस्‍त्र प्रहरीले पनि दसैं बिदा नपाउने भएका हुन् ।

अत्यावश्यक बिदा भने पाउनेछन् । सशस्‍त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले कोरोना महामारीविरुद्ध परिचालन हुनुपर्ने र अन्य शान्ति सुरक्षाका जिम्मेवारीमा लाग्नुपर्ने भएकाले दसैंमा बिदामा कडाइ गरिएको बताए ।

पछिल्लो समय कोरोना भाइरसको जोखिमसमेत बढेको र विगतको तुलनामा सक्रियतासमेत बढाउनुपर्ने भएपछि अत्यावश्यकबाहेक बिदामा रोक लगाइएको उनले बताए । सशस्‍त्र प्रहरीमै पनि १४ सयलाई कोरोना संक्रमण भइसकेको छ । उनले भने, “सबैतिर जोखिम छ । यस्तोमा बिदा छाड्दैनौं । गाउँघरमा जाँदा जोखिम बढ्नसक्छ । राज्यले दिएका जिम्मेवारी पूरा गर्छौं ।”

सशस्‍त्र प्रहरी सीमा सुरक्षा,राजस्व चुहावट नियन्त्रण,शान्ति सुरक्षा कायमलगायतका काममा परिचालन हुँदै आएको छ । कोरोना महामारीविरुद्धको योजनामा २९ हजार बढी सशस्‍त्र प्रहरी परिचालित छन् । नेपाल प्रहरी र सशस्‍त्रले बिदा नदिने बताए पनि नेपाली सेनाले भने आफ्ना कर्मचारीलाई बिदा छाड्ने बताइसकेको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*