‘गुर्जोमा रोग प्रतिरोधात्मक क्षमता धेरै’
मकवानपुर । विश्व कोरोना भाइरस (कोभिड-१९) का कारण अस्तव्यस्त छ । कोभिड संक्रमणको दर पनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजीमा छन् । तर अहिलेसम्म कुनै तात्विक परिणाम आउन सकेको छैन । त्यसैले कोरोना संक्रमणसँग बच्न रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ । मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडीबुटीप्रति चासो बढाउँदै गएको देखिन्छ ।
त्यसैमध्येको एक हो पछिल्लो समय नेपालमा प्रचलनमा रहेको गुर्जो । नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो बिक्री गर्न राखिएको पनि देखिन्छ । विज्ञ डा. ऋषिराम कोइराला पनि रोग प्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जो प्रयोग गर्नु उपयुक्त हुने बताउँछन् । गुर्जो दैविककालदेखि नै उल्लेखित जडीबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि प्रमाणित गरिसकेको बताए ।
रगतमा हुने हेल्परटिसियल्सहरुको क्षमता बढाउने र शरीरमा हुने एन्टिजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थितगर्ने गुण गुर्जोमा हुने उनले बताए । गुर्जोको प्रयोग धुलो बनाएर वा उमालेर खान सकिन्छ । डा. कोइरालाका अनुसार हरियो गुर्जो छ भने सानो एक टुक्रालाई थिचेर पानीमा उमालेर छानेर चियाजस्तै खान सकिन्छ । यस्तै सुकेको गुर्जो भए धुलो बनाई पानीमा घोलेर वा त्यतिकै पनि एक चम्चासम्म खान सकिन्छ ।
कोभिड १९ संक्रमणसँग लड्नका लागि पनि गुर्जो प्रभावकारी हुने उनले बताए । त्यसैले कोभिड संक्रमण भएका मानिसहरुले समेत दिनमा दुई-तीन पटकसम्म खान सकिने उनको भनाइ छ । यो सबै उमेरकाले खान हुने पनि उनले बताए । बाह्रखरी डटकमबाट