कोरोना महामारीमा घरेलु र यौनजन्य हिंसाका घटना बढी
मकवानपुर ।कोरना महामारीको समयमा पनि बागलुङमा महिला हिंसाका घटना बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय र यहाँका स्थानीय तहका न्यायिक समितिहरूमा यस्ता घटनाका मुद्दा धेरै दर्ता भएका हुन् ।
बन्दाबन्दी, निशेधाज्ञा र सङ्क्रमणको जोखिम बढिरहेका बेला महिला हिंसाका घटना भने रोकिएका छैनन् । यस्ता घटनामध्ये घरेलु प्रकृतिका र यौनजन्य हिंसा धेरै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
असोज १५ गतेसम्म प्रहरीको महिला सेललगायत विभिन्न पालिकाको न्यायिक समितिमा सयभन्दा बढी यस्ता घटना दर्ता भएका छन् । महिला सेलमा मात्रै ५० भन्दा बढी उजुरी दर्ता भएको प्रहरी सहायक निरीक्षक अनु राईले बताए ।
उनले भने, “लकडाउन बजारक्षेत्रमा भएपनि ग्रामीण क्षेत्रमा घटना बढिरहेका छन् । अधिकांश घटनाका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार र विभिन्न हिंसाका गरी २४ मुद्दा जिल्ला अदालतमा पुगेका छन् । लकडाउनको समयमा मुद्दाहरू थोरै परेकामा आंशिक खुला भएपछि भने मुद्दाको दर बढेको हो । ”
बागलुङ नगरपालिकाको न्यायिक समितिमा पनि ९ मुद्दामध्ये अधिकांश घरेलु हिंसाकै भएको कानून अधिकृत नरेन्द्रबहादुर केसीले बताए । ताराखोला गाउँपालिकामा तीनवटा मात्रै यस्ता मुद्दा दर्ता भएको उपाध्यक्ष डिलकुमारी पुनले बताए ।
ढोरपाटन नगरपालिकामा एउटै मुद्दा नपरे पनि केही मुद्दा भने प्रहरीमै दायर भएका त्यहाँका उपप्रमुख करमती पुनले जानकारी दिए । खबरहब डटकमबाट