कोरोना संक्रमितले आईसीयू र भेन्टिलेटर पाउनै मुस्किल, तर सरकार भन्छ– खाली छ
मकवानपुर । काठमाडौं रातोपुलका ४८ वर्षका पुरुषलाई मंगलबार कोरोना पुष्टि भयो । मधुमेह र उच्चरक्तचापका बिरामीसमेत रहेका ती पुरुषलाई संक्रमणले निकै च्याप्यो । आईसीयूमा राख्नुपर्ने भयो । ती पुरुषका आफन्तले उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर, पाटन, त्रिवि शिक्षण अस्पताललगायतका सबै सरकारी अस्पतालमा सम्पर्क गरे तर शय्या खाली नभएको जवाफ पाए ।
सरकारी अस्पतालमा नपाएपछि निजी अस्पतालहरु ह्याम्स, ग्रान्डी, मेडिसिटी, स्टार, अल्का, नर्भिकलगायतमा समेत शय्याका प्रयास गरे पनि समयमा आईसीयू पाउन सकेनन् । ती पुरुष उक्त दिन घरमै चिकित्सकको परार्मशमा अक्सिजन दिएर राखियो । बुधबार पुन: आईसीयूका लागि परिवारले अस्पतालमा सम्पर्क गर्दा नर्भिक अस्पतालले एक शय्या खाली रहेको जानकारी दिएपछि ती पुरुष अहिले नर्भिकको आईसीयूमा उपचाररत छन् ।
यस्तै, अनामनगरका ५० वर्षीया पुरुषलाई गत साता कोरोना संक्रमण देखियो । ती पुरुष होम आइसोलेसनमा बस्दै आएका थिए । ती पुरुष चिकित्सकसँग अनलाइन परार्मश लिँदै आएका थिए । तर संक्रमणको सातौं दिन सोमबार एकाएक श्वास फेर्न गाह्रो हुने र अक्सिजनको मात्रा घटेर ७० मा पुग्यो ।
ती संक्रमितका आफन्तले उपत्यकाका सबै सरकारी अस्पतालमा आइसोलेसन वेडका लागि सम्पर्क गरे तर खाली नभएको जवाफ मात्र पाए । पुन: निजी अस्पतालमा आइसोलेसन लागि सम्पर्क गर्दा मेघा अस्पतालमा एक शय्या खाली रहेको जानकारी पाए । परिवारका सदस्यले तुरुन्तै मेघामा लगेर भर्ना गरे ।
मेघामा चिकित्सकले अक्सिजन दिए । अन्य चेकजाँच गर्दा उनलाई निमोनिया भएकोले छिटोभन्दा छिटो आईसीयूमा खोज्न आफ्न्तलाई चिकित्सकले सुझाए । मेघा अस्पतालले सबै आईसीयू भरिएको बतायो । सरकारी र निजी सबै अस्पतालमा आईसीयूका लागि फोन गर्दा कतै खाली नभएको जवाफ दिए । मंगलबार पुन: निजी र सरकारी अस्पतालमा फोन गर्दा ओम अस्पतालले एक आईसीयू खाली रहेको जानकारी दियो । हाल ती पुरुष ओमको आईसीयूमा उपचाररत रहेका परिवारका एक सदस्यले जानकारी दिए । यी त केही प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय उपत्यकामा संक्रमण बढेसँगै आईसीयू पाउन निकै मुश्किल भएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा.समीर कुमार अधिकारीका अनुसार उपत्यकामा १३४ जना आईसियूमा र ४९ जना भेन्टिलेटरमा उपचाररत छन् । सरकारी अस्पतालमा ७९ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा उपचाररत छन् । निजी अस्पतालको आईसीयूमा ५५ जना र भेन्टिलेटरमा २१ जना उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकै तथ्यांकअनुसार बिहीबार साँझसम्म उपत्यकाका अस्पतालमा मात्रै २४१ आईसीयू र १०७ भेन्टिलेटर कोभिडका बिरामीका लागि छुट्याएको छ । जसमा सरकारी अस्पतालमा १२४ वटा आईसीयू र ६७ वटा भेन्टिलेटर छन् । निजी अस्पतालमा ११७ वटा आईसीयू र ४० वटा भेन्टिलेटर कोभिडका बिरामीका लागि छुट्याएको छ । बिहीबार साँझकै तथ्यांक अनुसार नै उपत्यकामा मात्रै १०७ कोभिड आईसियू र ५८ भेन्टिलेटर खाली छन् ।
यता मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले उपत्यकामा बेड नपाउने समस्या नभएको तर केही मुस्किल भने देखिएको बताउँछन् । उनका अनुसार अस्पतालहरुले कति कोभिडका बिरामी रहेका छन् र कति बेड खाली छन्, सिस्टममा राख्नुपर्ने हुन्छ तर अस्पतालहरुले सही तथ्याकं नराख्दा समस्या देखिएको छ । उनले भने, “अस्पतालहरुले सिस्टममा जे इन्ट्री गरिएको हुन्छ सो अनुसार हामीले बेड खाली भए-नभएको भन्ने हो ।”
कोभिडका बिरामीले जुन अस्पतालमा आईसीयू खोज्छ, त्यहाँ नपाउने हो अर्को ठाउँमा पनि पाउन धेरै मुस्किल देखिएको उनको भनाइ छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बेड खाली हुँदाहुँदै, छैन भनेर उपचार नगर्ने अस्पताललाई कारबाही गरिने बताए । उपत्यकाका कोरोना विशेष अस्पतालले धान्न नसकेपछि सबै सरकारी अस्पताललाई कोरोना अस्पताल तोकिएको बिरामीको उपचार गर्ने मन्त्रालयका प्रवक्ता डा. गौतम बताउँछन् ।
उनका अनुसार कोरोना संक्रमितसँगै अन्य बिरामीको पनि उपचार सोही अस्पतालले गर्नुपर्छ । उनले भने, “कोरोना संक्रमितसँगै अन्य बिरामीलाई नियमित सेवा दिनुपर्छ ।”
मन्त्रालयका एक कर्मचारीले निजी अस्पतालहरुले कोरोनाका बिरामी हेर्न नचाहेका कारण अस्पतालले बेड भरिएको जवाफ दिने गरेको बताउँछन् । कोरोना संक्रमण देखिनेमा बढी रोगप्रतिरोधात्मक क्षमता कम भएका, विभिन्न रोगका बिरामीहरु बढी संक्रमित हुँदा आईसीयू र भेन्टिलेटरमा समस्या देखिएको समेत मन्त्रालयले जनाएको छ ।बाह्रखरी डटकमबाट