उपेक्षित छन् ऐतिहासिक स्थल मूर्तियाको मूर्तिहरु

लोकखबर
२१ भाद्र २०७८, सोमबार १४:५३

सर्लाही । ऐतिहासिक, तर बेवारिस थुप्रै मन्दिरको भग्नावशेषभित्र र बाहिर देवीदेवताका कलात्मक मूर्तिहरु, बुद्धकालीन मूर्तिहरु र स्वर्गका अप्सराहरुको अर्धनग्न मूर्तिहरु वर्षाैंदेखि संरक्षणको पर्खाइमा छन् । सर्लाहीस्थित पूर्व-पश्चिम राजमार्गबाट १४ किलोमिटर दक्षिण तथा मंलगवादेखि ४२ किलोमिटर पश्चिमतर्फ बरहथवा नगरपालिकाको मूर्तियामा रहेका मूर्तिहरूको यो दूरावस्था हो ।

मूर्तिया क्षेत्रमा पहिले वन्यजन्तु प्रशस्त पाइने घनाजंगल थियो । २०१२ सालपछि यहाँ जंगल फडानी गरी आवादी सुरु भयो । मूर्तियास्थित मन्दिरका व्यवस्थापन समितिका संयोजक रामबहादुर महतोकाअनुसार २०१७ सालमा मोहनसिंह नामक एक जोगी गाई लिएर आएका र उनलाई सपनामा कुनै अदृश्य शक्तिले  हाल मूर्तिया भनिने गाउँको माझमा अवस्थित पुरातात्विक अवेशषहरुसहितको ढिस्कोमा उत्खनन् गरे थुप्रै सम्पत्तिका साथै देवीदेवता मूर्तिहरु फेला पर्नेछ भन्ने जानकारी दिएअनुसार उत्खन्न गर्दा भग्नावशेषभित्र मन्दिरको जगको बीचमा शिवलिंग भेटिएको थियो ।

त्यही बेलादेखि त्यहाँ पूजाअर्चनाको सुरुवात भएको र यज्ञसमेत गरी शिवलिंगको नामाकरण मुक्तेश्वर महादेव गरिएको बताइन्छ । काशी भारतबाट वि.संं २०२७ मा स्याली बाबा नामक जोगी मूर्तिया आई ठूलो यज्ञ गरेको र यज्ञ समापनको दिन भण्डारा (भोज) पकाउन आगो बालेकै स्थानमा भोलिपल्ट उत्खनन् गर्दा भग्नावशेषभित्र पुनः चकेश्वर महादेव लिंग फेला परेको स्थानियवासीको बताउँछन् । अहिलेसम्म त्यहाँ विभिन्न आकार प्रकारका चारवटा ठूल्ठूला मन्दिरहरूको भग्नावशेष फेला परिसकेको छ ।

करिब पाँच कठ्ठा जति जमिनको ढिस्कोमा एक कुटी छ, त्यहाँ पुजारी बस्छन् । एक इनार र सुरुङ पनि पाइएको छ । त्यहाँ वरपर खानजोत गर्दा प्राचीन वस्तुहरु इँटाढुंगाहरु पाइने गर्छ । त्यसैले यस स्थानलाई प्राचीन धार्मिक ठाउँ मान्न सकिन्छ । पुरातात्विक महत्वका संरचनालाई हेर्ने हो भने यो स्थान कुनै समयमा अतिभव्य शिवालय थियो भन्ने देखिन्छ ।

मूर्तियालाई तिरहुत राज्यअन्र्तगतको एउटा महत्वपूर्ण स्थानका रुपमा लिन सकिन्छ । प्राप्त कलाकृतिका आधारमा यसको निर्माणकाल लगभग १२औ शताब्दीताकाको हुन सक्ने देखिन्छ । शिखरशैलीको यो मन्दिर ईशाको १२औँ शताब्दीको मानिन्छ । शिखरशैलीको यो मन्दिर आठ मिटर वर्गाकार क्षेत्रमा भत्किएर थुप्रो लागेको छ । वर्गाकार मन्दिरको निर्माणयोजना मौलिक छ । यसको चारैतर्फ प्रदक्षिणपथको अवशेष अहिले पनि विद्यमान छन् । प्रदक्षिणापथसम्म जानका लागि सिँढीहरुको व्यवस्था देखिन्छ । वास्तवमा मन्दिरको अधिसंरचना नष्ट भइसकेको छ ।

मन्दिरको मुख्य प्रवेशद्वार पश्चिमामुख छ । प्रवेशद्वारसम्म जान सिँढीहरुको व्यवस्था गरिएको छ । सिँढीमाथिको अन्तिम भाग अर्थात् मूलढोकाको ठेलोको रुपमा विशाल एउटा प्रस्तर खण्ड रहेको छ । चार सय ५६ सेन्टिमिटर लामो ४४ सेन्टिमिटर चौडा कलात्मक यो प्रस्तर खण्ड लगभग १० टनभन्दा पनि अधिक वजनको प्रतित हुन्छ । मन्दिरको भित्र योजना वर्गाकार देखिन्छ । तर, बाहिरी भाग भने आयताकार छ । जसको लम्बाइ ६ सय २० सेन्टिमिटर र चौडाइ चार सय १६ सेन्टिमिटर छ ।

लम्बाइ र चौडाइको आधारमा यस मन्दिरको उचाइ लगभग एक हजार आठ सय सेन्टिमिटर हुन सक्ने सम्भावना देखिन्छ । मन्दिरको गर्भगृहमा अत्यन्त कलात्मक विशालकाय पाषाणपट छ । जसको लम्बाइ ३६० सेन्टिमिटर र उचाइ ४५ सेन्टिमिटर छ । एउटै मात्र प्रवेशद्वार भएको यस मन्दिरको प्रत्येक कोणमा दुई दुई पाषाण स्तम्भका अवशेषहरु देखिन्छ भने प्रवेशद्वारका दायाँ बायाँ अरु दुई पाषण स्तम्भको खण्डित भाग आज पनि विद्यमान देखिन्छ ।

गर्भगृहभित्रको अलंकारयुक्त पाषाणपटमा कुँदिएका कलात्मक अन्यन्त मनमोहक छ । पुष्पलताद्वारा अलंकृत यस शिलाखण्डमा नौवटा वर्तुलाकार प्रतिमापटट रहेका छन् । उक्त कलात्मक प्रतिमापटको पृष्ठभूमिभित्रको कमलासनमाथि विभिन्न मुद्र र भावभंगिमा अनेक देवीदेवताका मूर्तिहरुको प्रस्तुती बडो रोचक छ । पाषाण खण्डमा यस प्रकारको सूक्ष्म कलाकारिताको अंकन अद्वितीय मानिन्छ । यस पाषणपटटको दुईतर्फ पाश्र्वभागमा कुँदिएका सिंहका मूर्तिहरु निकै राम्रा छन् । यही क्षेत्रमा विभिन्न प्रकारको पुरातात्विक महत्वको वस्तुहरु पाइने गरिएको छ । एक प्रकारले भन्ने हो भने यो मिथिलाको खुला संग्रहालय पनि हो । समय समयमा पुरातत्व विभागले उत्खनन् गर्ने गरे पनि अहिलेसम्म उत्खन्न पूर्ण हुन सकेको छैन ।

मुर्ति चोरी हुँदै, दुर्व्यसनीको अड्डा बन्दै

अहिले मूर्तियामा रहेको ऐतिहासिक मूर्तिहरु चोरी हुने गरिएको छ भने मन्दिर क्षेत्र नै लागुऔषध सेवनकर्ताहरुको अड्डा बनेको छ । २०२७ सालमा तत्कालीन राजा महेन्द्र शाहको पहलमा सो स्थानको उत्खनन गरिएको थियो । उत्खननबाट सयौंको संख्यामा मूर्तिहरू फेला परेका थिए । मूर्तिहरूको संरक्षण गर्न पहल नगरिँदा धेरै मूर्तिहरू चोरी भइसकेका छन् । करिब दुई बिघा जग्गामा उत्खनन गरिए पनि थप उत्खनन र संरक्षणको कार्य हुनसकेको छैन । कलात्मक देखिने ती मूर्तिहरू हजारौं वर्ष पहिलेका भएको अनुमान पुरातत्व विभागको अनुमान छ । बाग्मती नदी नजिकै रहेको मूर्तियामा कुनै राजाको ठूलो दरबार हुनसक्ने अनुमान गरिएको छ ।

मूर्तिया मन्दिरको संरक्षण समितिका महतोलेसमेत मन्दिरमा कतिपय मूर्तिहरु चोरी भएको बताउँदै आफुहरुले यसको संरक्षणमा सक्दो प्रयास गरिरहेको बताउँदै मन्दिर प्रांगणमा खुला रुपमा मूर्तिहरु रहेकाले चोरी हुने गरेको छ ।

मन्दिर संरक्षणका लागि सरोकारावालाको ध्यान अहिलेसम्म नगएको स्थानीयवासीको भनाइ छ । उनका अनुसार मन्दिरको विषयमा गम्भीर अनुसन्धानसमेत नभएको महतोले बताए । संस्कृतिविद् रामदयाल राकेशले आफू प्रज्ञा प्रतिष्ठानमा रहँदा मूर्तियाको विषयमा सेमिनारको आयोजना गरे पनि यसको संरक्षण र मन्दिरको अध्ययनमा राजनीतिक उदासीनता रहेकाले पछाडि परेको जानकारी दिए । उनले प्रदेश र स्थानीय सरकारले यसको संरक्षणमा ठोस योजना ल्याएर संरक्षण गर्नुपर्नेमा जोड दिए । न्यूजकारखानाबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*