कांग्रेसमा विगत ३५ वर्षदेखि सक्रिय राजनीति गरेका कार्कीले रोजे एकीकृत समाजवादी

लोकखबर
२१ भाद्र २०७८, सोमबार १७:०३

मकवानपुर । नेपाली कांग्रेसमा विगत ३५ वर्षदेखि सक्रिय राजनीति गर्दै आइरहेका मधुकर कार्की आज सोमबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

कांग्रेसमा सक्रिय राजनीति गर्दै आइरहेका थाहानगर निवासी कार्कीलाई समाजवादीका केन्द्रिय सदस्य,बागमती इन्चार्ज केदारप्रसाद न्यौपाने र केन्द्रिय सदस्य मुनु सिग्देलले पार्टीमा स्वागत गरेका हुन् ।

कार्कीले कांग्रेसमा जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधी, थाहा नगरपालिका वडा नम्बर ४ को वडा सभापति, क्षेत्र नम्बर ३ को क्षेत्रिय सचिवको भूमिका निर्वाह गरिसकेका छन् । विगत देखि नै आफूलाई कम्युनिष्ट पार्टी मन परेपनि उचित पार्टी नपाएकाले कहिँकतै प्रवेश नगरी आफूले खोजेजस्तो कम्युनिष्ट पार्टी एकीकृत समाजवादी भएकाले प्रवेश गरेको कार्कीले बताए । ‘ विगतमा कांग्रेसमा लामो समय राजनीति गरे, त्यहाँ अघि बढाउने भन्दा पनि खुट्टा तान्नेहरु धेरै थिए । ’ कार्कीले भने, ‘समाजमा केही गरौं र अघि बढौं भन्नेहरुका लागि एकीकृत समाजवादी नै असल कम्युनिष्ट पार्टी हो भन्ने बुझाई भएरै यसमा आबद्द भएको हुँ । ’ माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले अहिले देश तथा नेपाली जनताको एजेन्डामा आफूलाई उभ्याएकाले यो पार्टीमा संलग्न हुँदा आफूलाई गौरवान्वित बनाएको कार्कीले बताए । आगामी दिनमा पार्टीले दिएको अवसरलाई इमान्दारीतापूर्वक पालना गर्ने पनि उनको भनाई छ ।

कार्की प्रवेश कार्यक्रममा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, सचिव विष्णु दाहाल लगायतको उपस्थिती थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*