चितवनका थारू जातिले यसरी मनाउँदैछन् ‘जितिया पर्व’

लोकखबर
१३ आश्विन २०७८, बुधबार ११:४४

मकवानपुर । चितवनका आदीवासी भूमिपुत्र थारु जातिले ‘जितिया पर्व’ मनाइरहेका छन् । थारुहरुको बाक्लो बसोवास रहेको पूर्वी चितवन, पश्चिम चितवन र माडी क्षेत्रमा जितियाको विशेष उल्लास छ ।आज थारु समुदायका महिलाहरु बिहानैदेखि निराहर व्रत बसी झाम्टा नाच नाच्दै, गाउँदै जितिया मनाइरहेका छन् । बिहानै नुहाइधुवाइ गरी बेलको पात टिपेर दिनभर निराहर व्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाउँछन् ।
बिहान दर खाएपछि महिलाहरु एक ठाउँमा जम्मा भएर गीत गाउँदै रमाइलो गर्छन् । तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने थारु महिला अगुवाहरुको भनाइ छ ।चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितियाको रौनक छाएको छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ ।
आज जितियाको दोस्रो दिन अर्थात मूख्य दिन हो । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । आज अष्टमीको दिन भएकोले महिलाहरू विहानैदेखि ‘उपास’ व्रत बसी झम्टा नाँच नाचेर रमाउँछन् ।
महिलाहरू नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् । आज बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गइ पिनाले नुहाइ पातमा पिना बगाउँछन् । त्यसपछि सबै व्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ ।
रुखको चारैतिर व्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् ।
गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा ९जितिया व्रत कथा० घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई ‘फराहर’ भनिन्छ ।भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै व्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ बनाएर मासको गेडाले पूजा गर्छन् ।खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।हिन्दु धर्मालवम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । जितिया पर्वको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ । जितियामा व्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रहेको छ ।
थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु पनि सक्रिय छन् । युवा पिढिहरुलाई जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलाप बारे युवायुवतीहरुलाई जानकारी दिने गरेका छन् । पछिल्लो समय जितिया पर्व सुरु हुनुपूर्व नै प्रतियोगितात्मक कार्यक्रमहरु पनि हुने गरेका छन् । चितवनको समथर भूभागमा झन्डै एक लाख ३० हजार हाराहारीमा थारु समुदायको बसोबास छ ।
तराईमा बसोबास गर्ने थारु जातिका महिलासँगै मधेसी, मैथिली जातिले पनि जितिया पर्व मनाउने गर्छन् । अनलाइनखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*