असोज २४ गते बागमती सभा अधिवेशन बोलाइदै, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

लोकखबर
२० आश्विन २०७८, बुधबार १९:३१

मकवानपुर । बागमती प्रदेशसभाको नवौं अधिवेशन यही असोज २४ गते आव्हान गर्ने तयारी भएको छ ।

प्रदेश सरकारको आज बसेको बैठले अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मन्त्री केशवराज पाण्डेले असोज २४ गते दिनको ३ बजे अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार अब आव्हान हुने अधिवेशनमा प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछिन् ।

एमालेको एकल बहुमत रहेको बागमती प्रदेशमा १३ जनाले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेर सरकार सञ्चालन गरिरहेकी छिन् । मुख्यमन्त्री शाक्यको दल एमालेसका ४३ सांसदको साथका साथ बागमती सरकार सञ्चालन भइरहेको हो ।

पार्टी विभाजनसँगै बागमती प्रदेशमा एमालेका १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन् । पार्टी विभाजनको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्री शाक्यले नवौं अधिवेशनमार्फत विश्वासको मत लिने तयारी थालेको भएपनि उनले विश्वासको मत पाउँने अवस्था अहिले छैन ।

प्रदेशसभामा अहिले १०९ जना सांसद रहेका छन् । एमालेको ४३, माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीको ३, राप्रपाको २, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को २, स्वतन्त्र सांसद १ रहेका छन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री शाक्यले अहिलेसम्म आफ्नै पार्टी एमाले बाहेक अरुसंग भरपर्ने अवस्था भएको बताइएको छ । यस्तो अवस्थामा मुख्यमन्त्री शाक्य विश्वासको मत लिन असफल हुने र आफूहरुको सरकार बनाउँने विपक्षी गठबन्धनको तयारी छ ।

विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादीले आफुहरु मध्येबाट नयाँ मुख्यमन्त्री बनाउँने तयारी गरेका छन् । उनीहरुका अनुसार गठबन्धनमा ५९ मत रहेको छ । सरकार बनाउँनका लागि ५५ मत आवश्यक पर्दछ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*