को हुँन विरोध खतिवडा ? पाँच वर्ष जेल तथा पाँचपटक नै सांसदमा

लोकखबर
२२ आश्विन २०७८, शुक्रबार १६:४५

मकवानपुर। विरोध खतिवडा अबको परिचय स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा। उसो त नामका अगाडि माननीय झुण्डिएको अहिले होइन, २०४८ को आमनिर्वाचनदेखि नै हो । त्यतिखेर नेकपा एमालेबाट निर्वाचित सांसद खतिवडाको यो ३० वर्षमा पनि नामका अगाडि माननीय टुटेन । हुन त २०६४ र २०७० को निर्वाचनमा खतिवडालाई पार्टीले टिकट दिएन ।

खतिवडा २०४८ को आमनिर्वाचनपति लगातार मकवानपुरबाट अविजित भएका थिए। २०५१, २०५६ का निर्वाचनमा खतिवडाको सांसद यात्रा कायम रह्यो । २०६३ सालमा संसद पुनस्थापना हुँदा पनि खतिवडाको संसद यात्रा पुनः भयो । तर २०६४ र २०७० को निर्वाचनमा खतिवडालाई नेकपा एमालेले टिकट नै दिएन । २०७४ मा भएको निर्वाचनमा मकवानपुर–२ बाट खतिवडा पुनः निर्वाचितमा आएको थिए।

पाँच वर्ष जेलः

विरोध खतिवडाले जीवनका राजनीतिक आरोह अवरोहमा ५ वर्ष जेल बस्नु भएको छ । त्योमध्ये ३ महिना खतिवडा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जेल बस्नु भएको थियो । जेलमा ओली, खतिवडा र मोदनाथ प्रश्रित पनि रहेको थियो।

प्रश्रितको किताबमा खतिवडाको कविताः

जेल बस्दा मोदनाथ प्रश्रितले लेख्नु भएको कविता संग्रहमा विरोध खतिवडा र केपी शर्मा ओलीको पनि कविता छ । पारिवारिक पृष्ठभूमिमै राजनीतिक चेत भएकाले व्यवस्था विरोधी आन्दोलनमा खतिवडाको उपस्थिति रहेको थियो ।

राजनीतिक यात्राः

–भुटनदेवी माविबाट २०२८ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय (अखिल उपसचिवमा उम्मेदवारी) ।
–वामपन्थी आन्दोलन, राजनीतिक चेतका कारण कम्युनिष्ट पार्टीमा आबद्घ ।
–ल क्याम्पसमा २०३५–२०३६ सालमा स्ववियू पदाधिकारीमा रही जिम्मेवारी बहनका साथै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सदस्य ।
–२०३५र३६ सालमा पार्टीको जिल्ला कमिटीमा आबद्ध ।
–२०४० सालअघिसम्म भूमिगत राजनीतिमा सक्रिय ।
–२०४३ सालमा मकवानपुरबाट जन पक्षीय राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा उम्मेदवार, चुनावमा रुपचन्द्र विष्टसंग प्रतिष्पर्धा ।
–नेकपा एमालेको जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्यको जिम्मेवारीमा रही कार्य भूमिका निर्वाह गरेको ।
–यसअघि नेकपा एमालेको केन्द्रीय उद्योग विभाग तथा लेखा आयोगको सदस्य भइसकेको ।
– पार्टी एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्य ।
–पार्टी विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा स्थायी कमिटी सदस्य ।

पारिवारिक पृष्ठभूमिः

नामः विरोध खतिवडा
जन्म मितिः २०१५ फागुन १० गते
जन्मस्थानः मकवानपुर गढी गाविस (हाल हेटौँडा १७, हटिया, राजदेवी)
हाल बसोबासः हेटौँडा–४, मकवानपुर, नख्खिपोट, ललितपुर ।
पिताः बद्रीप्रसाद खतिवडा
पत्नीः माननीय मुनु सिग्देल

शिक्षाः
–भुटनदेवी माविबाट एलएलबी –२०३३
–ल क्याम्पसबाट बी एल–२०३९

जेल जीवनः

सबैभन्दा बढी १४ महिना र कम ३ महिना गरी पाँच वर्ष जेल । बहुदल,शैक्षिक, मजदुर आन्दोलनहरुमा सहभागी हुँदा जेल परेको ।
–२०३७ सालमा काठमाडौंको सेन्ट्रल जेलमा परेको ।
–भद्रगोल, डिल्लीबजार, भीमफेदी, स्याङ्जा, गौर, पोखरामा जेल जीवन ।
–२०३७ सालको जेलमा केपी ओली, राधाकृष्ण मैनाली, वेदुराम भुषालसँगै बसेको ।

राजनीतिक परिवारः

–विरोध खतिवडाको बाबु बद्री खतिवडा कम्युनिष्ट विचार धाराको भएका कारण राजनीतिक तथा शैक्षिक आन्दोलनमा सरिक विरोध खतिवडाको आवद्धता भयो । नेपाली शिक्षक आन्दोलनका प्रणेता नै हुन बद्रिप्रसाद खतिवडा । पछि हरियाली नेपाल पार्टीको अध्यक्षसमेत हुनु भएका खतिवडालाई नेकपा एमाले पनि समानुपातिक उम्मेदवार बनाएको थियो ।

–विरोध खतिवडा पत्नी मुनु सिग्देल पनि २०४८ सालदेखि नै राजनीतिमा हुनुहुन्छ । अनेरास्ववियुबाट राजनीतिमा सक्रिय सिग्देल नेकपा एमालेको मकवानपुर अध्यक्ष हुनुभयो । एमालेबाट बागमती प्रदेश सभामा समानुपातिक सांसद सिग्देल पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य हुनु भएको छ । पार्टीबाट बागमती प्रदेश सभामा प्रमुख सचेतक हुनु भएको छ ।

सामाजिक जीवनः

राजनीतिक जीवनमा सक्रिय खतिवडाको परिवारका ३ जना बद्री खतिवडा, विरोध खतिवडा र मुनु सिग्देल । उसो त मुनु सिग्देल सामाजिक संस्थामा पनि क्रियाशील हुनुहुन्छ । गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य भइसक्नु भएको छ मुनु सिग्देल ।

सन २०१८ मा मिस नेपाल भएपछि खतिवडा दम्पतीका छोरी शृंखला खतिवडा मकवानपुर लगायत देशका विभिन्न भूगोलमा सामाजिक अभियान्ताका रुपमा सक्रिय हुनुहुन्छ । पश्चिम मकवानपुरको चेपाङ गाउँमा शृंखलाका पहलमा स्वास्थ्य चौकीहरु बनेका छन् । परिवारका चार पुस्ता नै मकवानपुरको राजनीतिक र सामाजिक अभियानमा सक्रिय छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*