फरार अभियुक्त ६ वर्षपछि पक्राउ
अदालतमा वुझाइयो

त्रिशूली– राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दामा अदालतले दोषी ठहर गरेका एक जना फरार अभियुक्तलाई रसुवामा पक्राउ गरिएको छ । उनलाई कारवाहीका लागि अदालतमा पेश गरिएको छ ।
अदालतले गरेका विभिन्न फैसला कार्यान्वयन अन्तर्गतका फरार अभियुक्तहरूलाई खोजतलास गर्दै जाने क्रममा मंगलवार जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले ६ वर्षदेखि फरार रहेका अभियुक्त निमादोर्जे तामाङलाई पक्राउ गरी अदालतम पेश गरिएको प्रहरी नायव उपरिक्षक हेम शाहीले जानकारी दिए । उनका अनुसार रसुवा जिल्ला अदालतवाट राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दामा गत २०७६ साल असार ३० गते दोषी ठहर गर्दै ६ महिना कैद र कुल एक करोड एक लाख १७ हजार रुपैया जरिवानाको फैसला गरेका तामाङलाई पक्राउ गरि मंगलवार नै रसुवा जिल्ला अदातल बुझाइएको डिएसपि शाहीले वताए ।