विदुरमा विपद विरुद्ध प्रतिकार्य
विदुर–वर्खायाम सुरु भएसंगै विपदको न्युनीकरणका लागि विभिन्न योजनाहरु नुवाकोटमा सुरु गरिएका छन् । जसअन्र्तग सुरक्षा निकायहरुले पनि सक्रियता अपनाइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय, सेना, प्रहरी तथा सशस्त्र प्रहरीले सक्रियता अपनाइरहेका छन् । जसअन्र्तगत विदुरमा विपद प्रतिकार्य विरुद्ध सचेतना कार्यक्रम गरिएको छ ।
सशस्त्र बल नेपाल नं. १९ गुल्म विदुरले विपद् प्रतिकार्य पूर्वतयारी प्रयोगात्मक अभ्यास गरेको छ ।

वर्खायामसँगै त्यसबाट जनजीवन प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर सशस्त्र प्रहरीले विदुर नगरपालिका– ९ को सिलट्याङ्की बाँध क्षेत्रमा मनसुनजन्य विपत् उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास गरेको हो ।
जसमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गरिएको सशस्त्र प्रहरी निरीक्षक इश्वर कोइरालाको भनाई छ । विपद् प्रतिकार्य पूर्वतयारी अभ्यासमा सिलट्याङ्कीको बाँधमा खसेका मानिसहरुलाई बचाउनका लागि सशस्त्रले उद्धार सामग्रीको सहायताले उद्धार गरेको घटना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नुवाकोटले जनाएको छ ।
सहभागी जनप्रतिनिधि तथा सर्वसाधारणलाई १० जना तालिमप्राप्त सशस्त्र प्रहरीले विपदको समयमा उद्धार गर्न प्रक्रियाका वारेमा जानकारी गराएका थिए । यसवाट आम सर्वसाधारणमा उद्धार र विपदको व्यवस्थापनको जानकारी दिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रामकुमार खिउजूले जानकारी दिए ।

उता, नुवाकोटमै रहेको नेपाली सेनाको श्रीशेर गणले मनसुनको समयमा विपद्को घटनालाई जतिसक्दो चाडो खोज तथा उद्धारलाई मध्येनजर गर्दै नुवाकोटमा ‘अभ्यास मनसुन–५’ सञ्चालनमा ल्याएको छ । ‘अभ्यास मनसुन–५’ ले विपद् प्रतिकार्य अन्र्तगत पूर्व तयारी, घटना भएमा खोज तथा उद्धारसम्मको योजनाहरु समावेश गर्दै जिल्ला स्थित विपद्को क्षेत्रमा कार्यरत सरोकारवालाहरुबीचको समन्वयमा जोड दिएको हो ।
हाल बर्खायाम सुरु भइसकेकाले यस समयमा हुनसक्ने बाढी, डुबान तथा पहिरो लगायतका प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई मध्यनजर गरी प्रभावितहरुलाई तत्काल खोज, उद्धार तथा राहत कार्य प्रभावकारी रुपमा सम्पन्न गर्ने उद्देश्यका साथ विपद् प्रतिकार्य सम्बन्धि सामूहिक अभ्यास ‘अभ्यास मनसुन–५’ को प्रारम्भ गरिएको श्रीशेर गणका गणपति तथा प्रमुख सेनानी अशोककुमार मल्लको भनाई छ ।

‘अभ्यास मनसुन–५’ मा विगतमा भएका विपद् प्रतिकार्यका अभ्याससहित थप सुधार एंव सरोकारवाला निकायहरुसंगको सहकार्यलाई थप प्राथमिकता दिइएको छ । श्रीशेर गणमा आयोजित कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहित विपद्को क्षेत्रमा सक्रिय रहेका सुरक्षा निकाय तथा सामाजिक सँस्थाहरुलाई ‘अभ्यास मनसुन–५’ को सम्बन्धमा जानकारी गराइएको छ ।

प्रजिअ घिमिरेले विपद् प्रतिकार्यका सम्बन्धमा विगतदेखि नै आआफ्नो क्षेत्रमा सक्रिय रहदै आएका सरोकारवाला निकायबीच सहकार्य गरेर गरिने कार्यक्रमले सफलता प्राप्त गर्न सहज हुने बताए । विपद्को समयमा सत्य सूचना प्राप्त गर्न, खोज तथा उद्धारको लागी परिचालन, पीडितलाई राहत तथा बन्दोबस्तीलगायतका सामग्री उपलब्ध गराउन सहकार्य र समन्वय सबैभन्दा ठूलो महत्व राख्ने भएकाले ‘अभ्यास मनसुन–५’ कार्यक्रम निकै प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । 
उक्त अवसरमा सुरक्षा निकायका प्रमुख एव प्रतिनिधि र जिल्लास्थित सामाजिक सँस्थाका प्रमुख तथा प्रतिनिधिहरुले मनसुनसहित विपद्को सम्बन्ध पूर्व तयारी, खोज उद्धार तथा राहत वितरणसम्मका योजनामा आ–आफ्नो विपद् प्रतिकार्यको तयारी तथा उपलब्ध स्रोत साधनहरुको बारेमा जानकारी गराइएको थियो । अभ्यास मनसुन–५’ प्रारम्भका सम्बन्धमा जानकारी तथा प्रस्तुतीकरणमा प्रजिअ घिमिरेसहित जिल्ला स्थित सुरक्षा निकायहरु प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस नुवाकोट, उद्योग वाणिज्य संघ लगायतका विपद्को क्षेत्रमा क्रियाशिल निकायहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।











































