गर्मीले जनजीवन प्रभावित
विदुर–गर्मीका कारण नुवाकोटको जनजीवन प्रभावित भएको छ । केही दिनदेखि निरन्तर बढ्दो गर्मीका कारण नुवाकोटमा जनजीवन प्रभावित बन्दै गएको हो ।
सुरक्षा सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव रहेको छ । तापक्रम वढिरहेका कारण स्वास्थ्यको ख्याल गरेर काम गर्न चिकित्सकको सुझाव रहेको छ ।
दुई सातादेखि नुवाकोटमा पानी नपरेका कारण तापक्रम वढ्दो रहेको छ । यसले विद्यार्थी तथा पैदलयात्रुलाई निकै प्रभावित वनाएको छ । अत्यधिक गर्मीका कारण विशेष गरी दैनिक ज्याला मजदुरी गर्ने मजदूर, बालबालिका तथा ज्येष्ठ नागरिकहरू बढी प्रभावित भएका छन् ।
गर्मीका कारण घरबाहिर निस्किन समेत कठिन भएको जनगुनासो छ । बिहान र बेलुकाबाहेकको समयमा सर्वसाधारण घरभित्रै सीमित हुन थालेका छन् ।
वर्षा नहुँदा र गर्मी निरन्तर बढिरहँदा किसानहरू समेत चिन्तित बनेका छन् । खेतबारीमा लगाएको मकै सुक्दै गएपछि किसानहरू प्रभावित भएका छन् ।
गर्मीका कारण विद्यालयहरुमा विद्यार्थीको उपस्थिति न्यून हुदै गएको छ । चिकित्सकले शरिरलाई चिसो दिने वस्तु र अत्याधिक पानी पिउन सुझाव दिएका छन् ।











































