गाउंमै पुगेर किसानका पशुपन्छिको उपचार
विदुर–किसानहरुको सुविधाका लागि नुवाकोटको पश्चिमी भेग किस्पाङमा घुम्ति पशु उपचार शिविर गरिएको छ । यसवाट सयौं किसानहरुलाई सुविधा पुगेको छ ।
गाउंका किसानहरुले पालेका पशु स्वास्थ्य तथा परजिवि नियन्त्रणका लागि किस्पाङ गाउंपालिकाले उक्त शिविर गरेको हो । किस्पाङका पांच वटै वडामा शिविर गरिएको जनाइएको छ ।

उक्त घुम्ती शिविर किस्पाङ १ को भाल्चे, २ को सातदोवाटो, ३ को काहुले, ४ को साल्मे र ५ को चापडांडामा गरिएको हो । पशु उपचार, गोवर परिक्षण तथा आवस्यक औषधि वितरण गरिएको किस्पाङ गापाले जनाएको छ ।
किस्पाङ गापाको पशु शाखाका चिकित्सक डा. प्रेम जिएमसहित आठ जना पशु प्राविधिकको टोलीले पशु उपचार सेवा दिएको गापा उपाध्यक्ष अर्जुन न्यौपानेको भनाई छ । शिविरमा ६ सय २१ जना कृषकहरुले आआफ्ना पशुपन्छिको उपचार गराएका थिए ।

शिविरमा दुई सय ३९ वटा भैंसी, एकसय ४४ वटा गाई, तीनहजार ४६ वटा बाख्रा र एकहजार २३ वटा लोकल कुखुराको परिक्षण तथा उपचार गरिएको पशु प्राविधिक श्रीकृष्ण वजगाइको भनाई छ । यसवाट किसानहरुले आफ्नो गाउंमै पशु उपचार पाएको र यसलाई अन्य समयमासमेत निरन्तरता दिइने किस्पाङ गापा अध्यक्ष वीरवल तामाङको भनाई छ ।












































