ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण
–वृद्धाश्रममै पुगेर उपचार
विदुर-नुवाकोटको देवीघाटस्थित एक वृद्धाश्रममै पुगेर स्वास्थ्यकर्मीहरुले ज्येष्ठ नागरिकहरुको उपचार गरेका छन् । त्रिशूली अस्पतालले ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरेको हो ।

विदुर नगरपालिका ५ देवीघाटमा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका सम्पुर्ण ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाको भनाई छ । उनका अनुसार आफु वसेकै आश्रममा स्वास्थय सेवा पाउंदा वृद्धवृद्धाहरु निकै खुसी भएका छन् ।

त्रिशूली अस्पतालले शनिबार देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा बसोबास गर्दै आएका ३२ जना ज्येष्ठ नागरिक (आमाबुबा)हरुको स्वास्थ्य परीक्षण गरेर आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको त्रिशूली अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीले जानकारी दिए । ज्येष्ठ नागरिहरुको स्वास्थ्य परीक्षण कार्यमा त्रिशूली अस्पतालका निर्देशक डा.राजेन्द्र लामा, मनोरोग विशेषज्ञ डा. सन्देशराज उपाध्याय, डा. कैलाश विश्वकर्मासहित अस्पतालको विभिन्न विभागमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीसहित १५ जनाको टोली संलग्न रहेको थियो ।

त्रिशूली अस्पतालले क्त प्रतिष्ठानमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिकहरुको नियमित रुपमा शिविरमार्फत स्वास्थ्य जाँच तथा परीक्षण गर्दै जाने योजना रहेको छ । उक्त कार्यलाई आगामी दिनमा पनि नियमत रुपमा सञ्चालन गर्ने त्रिशूली अस्पतालले जनाएको छ ।















































