फरार अभियुक्त १७ वर्षपछि पक्राउ

विदुर–जीउ मास्ने बेच्ने मुद्दामा अदालतले दोषी ठहर गरेको फैसला गरिएका नुवाकोटका एक जना अभियुक्तलाई १७ बर्षपछि पक्राउ गरिएको छ । कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
पुनरावेदन अदालत इलामबाट जीउ मास्ने बेच्ने मुद्दामा गत २०६५ साल माघ १३ गते ३ बर्ष ८ महिना ४ दिन कैद भुक्तान गर्नु पर्ने फैसला भई फरार रहेका दुप्चेश्वरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । नुवाकोटको साविक घ्याङफेदी गाबिस ५ हाल परिवर्तित दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीका ५३ वर्षिय दावा तामाङलाई १७ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले खोजतलास गर्दै जाँदा उनकै घरबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले वताए । उनका अनुसार पक्राउ परेका दावा तामाङलाई आवश्यक कारवाहीको लागि सोमवार नुवाकोट जिल्ला अदालतमा बुझाईएकोमा अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय खम्पाक्याप नुवाकोट चलान गरिएएको छ ।