किसानहरुलाई आधुनिक उपकरण प्रदान
विदुर–किसानहरुलाई आधुनिक यन्त्र तथा औजारमार्फत कृषिमा उत्पादन वढोत्तरी गर्ने उद्धेश्यले नुवाकोटमा किसानहरुलाई विभिन्न आधुनिक कृषि उपकरणहरु प्रदान गरिएको छ । धान, तरकारी, आलु खेति गरिरहेका किसानहरुलाई विशेष ग्राह्यता दिइएको छ ।
प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना कार्यालय नुवाकोटले कृषि समूह, कृषि फर्म तथा किसानहरुलाई विभिन्न १९ प्रकारका आधुनिक यन्त्र उपकरणहर प्रदान गरेको हो । कार्यालयले धान, आलु र तरकारी जोन (क्षेत्र) वर्गिकरण गरि सो क्षेत्रभित्रका किसानहरुलाई उकपरणहरु प्रदान गरेको हो ।

यसवाट किसानहरु उत्पादन वढोत्तरीतर्फ केन्द्रीत भएको कार्यालय प्रमुख रविन्द्र पौडेलको भनाई छ । उनका अनुसार उपकरण माग गरेका किसान तथा फर्ममै पुगेर स्थलगत अनुगमन गरेर पहिचान गरि उपकरण दिने र अनुगमन कार्यलाई निरन्तरता दिने कार्यसमेत भइरहेको छ ।

जसअन्र्तगत बेलकोटगढी नगरपालिका १३ मदानपुरमा किसानहरुलाई आधुनिक कृषि उपकरण प्रदान गरिएको छ । कृषि प्राविधिसहितको टोलीले गाउंमै पुगेर किसान तथा कृषि समूहहरलाई आधुनिक कृषि यन्त्र हस्तान्तरण गरेको कृषि प्राविधिक भुवन तिम्सिनाको भनाई छ ।

धान जोन अन्र्तगत रहेका किसान तथा कृषि समूहहरुलाई यस वर्ष पेट्रोल मिनिट्रिलर एकसय ९५ थान, डिजेल मिनिट्रिलर पांच थान, पावर ट्रिलर १२ थान, स्प्रेयर दुई सय ५७ थान, पेडल थ्रेसर २० थान र कम्माइन मिल २२ थान हस्तान्तरण गरिएको प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार धान जोनमा एकसय ६५ वटा कृषि फर्म तथा समूहमा एकहजार तीनसय ४४ जना सदस्य आवद्ध रहेका छन् ।
आलु जोनतर्फ एकसय ४६ थान मिनिट्रिलर र ८७ थान स्प्रेयर वितरण गरिएको कृषि प्राविधिक राजन डंगोलले जानकारी दिए । उनका अनुसार आलु जोनमा एकसय १८ वटा कृषि फर्म तथा समूहमा तीनहजार जना सदस्य आवद्ध रहेका छन् ।

नयां तरकारी जोनतर्फ ७० थान पेट्रोल मिनिट्रिलर, ६१ थन डिजेल मिनिट्रिलर, एकसय ४४ थान स्प्रेयर, चार थान पावर स्प्रेयर र २५ थान व्रस कटर प्रदान गरिएको छ । सो जोनमा एकसय ६ वटा कृषि फर्म तथा समूहमा तीनहजार नौसय १० जना सदस्य आवद्ध रहेका छन् ।
उता, वाख्रा जोनतर्फ १७ थान घांस मिलाउने मेशिन, चार थान दाना वनाउने मेशिन, ३३ थान मकै छोडाउने मेशिन, चार थान विक्स मिल घट्ट र आठ थान तराजु हस्तान्तर गरिएको छ । सो जोनमा एकसय ५७ वटा कृषि फर्म तथा समूहमा तीनहजार सदस्य आवद्ध रहेका छन् ।

धान जोनअन्र्तगत नुवाकोटको वेलकोटगढी नपा, लिखु, पन्चकनया, शिवपुरी, तादी गापा, नयां तरकारी जोनमा किस्पाङ र म्यागङ गापा तथा वाख्रा जोनमा रसुवाको उत्तरगया, कालिका, नौकुण्ड, गोसाइकुण्ड र आमाछोदिङ्मो गापाका किसान, कृषि फर्म तथा कृषि समूह आवद्ध रहेका छन् ।











































