दुप्चेश्वरमा भक्तजनको वढोत्तरी

– एकैदिन पौने दुईलाख भेटी
लोकखवर विशेष संवाददाता
२०८२ माघ १९, सोमबार ००:२८

बिदुर– देवताहरुको पनि देवता भगवान शिवको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा भक्तजनहरुको आगमन दैनिक रुपमा वढिरहेको छ । हिउंदयाममा दुप्चेश्वरमा विशेष पुजा आराधना गर्ने भक्तजनहरु निकै वढिरहेका छन् । पशुपतिनाथको पर्यायको रुपमा रहेको नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा शनिवार हजारौं भक्तजनहरुले पुजापाठ तथा दर्शन गरेका छन् ।

प्रसिद्ध दुप्चेश्वर हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रुपमा विकसित भइरहेको छ । दुप्चेश्वर धाममा पछिल्लो समय दैनिक हजारौं भक्तजनहरु पुग्नुले पनि यस विषयको पुष्टि गरेको छ । हजारौं भक्तजनहरुले एकैदिन लाखौं रुपैया भेटी चढाउंदै आएका छन् ।

दुप्चेश्वर धाममा पुग्न नुवाकोटको विदुरवाट यातायातमा डेढ घण्टा र काठमाडौवाट दुई घण्टामा पुग्न सकिन्छ । हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आउने क्रममा वढोत्तरी भएसंगै भेटी सङ्कलन कार्य पनि वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ । दुप्चेश्वर धाममा छिमेकी मुलुक भारतवाटसमेत तीर्थालु आउने गरेका छन् ।

दुप्चेश्वरमा माघको तेश्रो शनिबार एकैदिन पौने दुई लाख रुपैया भेटी संकलन भएको छ । हिउंदयामका कारण भक्तजनहरु वढिरहेको दुप्चेश्वर विकास कोषले जनाएको छ । दुप्चेश्वर धाममा शनिवार एकलाख ५९ हजार नौसय ६२ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार संकलित भेटिमध्ये मन्दिरमा मध्यान्ह आरतीको ६७ हजार नौसय ७० रुपैया र कयुआर कोडमार्फत पांंचहजार तीनसय ८२ रुपैया भेटी संकलन भएको छ । दुप्चेश्वर धाममा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे सामूहिक रुपमा गणना गर्ने कार्य हुदै आइरहेको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो तीन वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार क्रियाशील रहेको छ ।

दुप्चेश्वर धाममा दर्शन गर्नका लागि आउने श्रद्धालु भक्तजनहरु मध्ये अपांगता भएका तथा ज्येष्ठ नागरिकहरूको लागि सहज र सुरक्षित रुपमा विशेष बैकल्पिक मार्गको व्यवस्था गरिएको छ । प्रसिद्ध दुप्चेश्वर धाममा आन्तरिक तथा वाह्य भक्तजनहरुकोसमेत आगमन भइरहेको छ । नेपाल, भारत, भुटान, वर्मालगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा हजारौं भक्तजनहरु आउने क्रमसमेत वढिरहेको पुजारी भगवानहरि धितालको भनाई छ ।

पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा पुग्नका लागि यातायातको पहुंच र सहजतासंगै भक्तजनहरु आउने क्रमसमेत वढिरहेको दुप्चेश्वर गापाकी उपाध्यक्ष माकुरी तामाङको भनाई छ । आकर्षक करेजुङ पहराको सितल र चिसो स्थानमा रहेको दुप्चेश्वरमा पुगेका सर्वसाधारणले गाइको दुध तथा पशुचौपायाको दाम्लो चढाउनेसमेत गर्दछन् । सो मन्दिरमा काठमाडौ तथा सदरमकुाम विदुरदेखि यातायातको सहजता रहेको छ ।

दुप्चेश्वर गाउँपालिका–६ रामती नजिकै करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा शनिवार मात्र एकैदिन पांचहजार वढि भक्तजनले दुप्चेश्वरको दर्शन र पुजाआजा गरेका छन् । दुप्चेश्वर धाममा दर्शन गर्नेहरुको घुइचो अपरान्हसम्म नै लागेको थियो । दुप्चेश्वरमा भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

 

यातायात र सुलभ वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो । प्रसिद्ध दुप्चेश्वर धाममा जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् । भीड वढेका कारण दुप्चेश्वरमा लामो समयसम्म मन्दिर दर्शन गर्नका लागि भक्तजनहरु लाइन लागेको थियो ।

दुप्चेश्वरमा आएकाहरुलाई पुजाआजा र महादेवको शिला दर्शनमा कुनै बाधा नहोस् भन्ने उद्देश्यले, नजिकैको भजन मण्डलीमार्फत वैकल्पिक मार्ग प्रयोगको अनुमति तथा सहजीकरणकोे व्यवस्था गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको थियो । उक्त व्यवस्थामार्फत सबै वर्ग र अवस्था भएका भक्तजनले दुप्चेश्वर महादेवको दर्शन गर्न सकुन भन्ने उद्धेश्य रहेको दुप्चेश्वर गापाका कर्मचारी भुपेन्द्र केसीको भनाई छ ।

दुप्चेश्वर धाम जान सर्वसाधारणले गाडी रिजर्भ गर्नुका साथै निजी गाडी र मोटरसाइकलमासमेत पुग्ने गरेका छन् । हिन्दु र वौद्धमार्गीहरु दुप्चेश्वर धाम पुग्दै आएका छन् ।
माघ महिनामा खेतिपातीको काम र चाडपर्व सकिएकाले पनि मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या वृद्धि भएको कोषले जनाएको छ । पछिल्लो समय काठमाडौसहित नुवाकोट, रसुवा, धादिङ, काभ्रे, चितवनसहित अन्य स्थानबाट सहज रुपमा सवारीसाधनमा मन्दिरसम्म नै जान पाईने भएकाले दर्शनार्थी बढिरहेका हुन् ।


सर्वाधिक रुचाइएको