लाखौं दर्शकले अवलोकन गर्दै सकियो नवौं नुवाकोट महोत्सव

– उत्कृष्ट किसान तथा उद्यमी सम्मानित, पांच करोडको कारोबार
लोकखवर विशेष संवाददाता
२०८२ माघ २०, मंगलवार ००:१८

बिदुर– कृषि, पर्यटन र व्यापार प्रवद्र्घनको उद्धेश्यले बिदुरमा सन्चालित नवौं नुवाकोट महोत्सव सम्पन्न भएको छ । १२ दिनसम्म सन्चालन भएको महोत्सवमा लाखौं दर्शकहरुको सहभागिता रहेको थियो । महोत्सवमा एकलाख पांचहजार दर्शकले अवलोकन गर्नुका साथै कुल पांच करोड रुपैया वरावरको कारोवार भएको आयोजक नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका अनुसार यहि माघ ७ देखि १८ गतेसम्म सन्चालित महोत्सवमा झण्डै दुई सय जना विभिन्न क्षेत्रका कलाकारहरुले आआफ्नो प्रस्तुती गरेका थिए । स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्घन र व्यवसायिक चहलपहललाई थप मजबुत बनाउने उद्धेश्यले सन्चालित नुवाकोट महोत्समा एकलाख पांचहजार दर्शकहरुले महोत्सवको अवलोकन गर्नुका साथै पांच करोड रुपैयाको कारोवार गर्दै सम्पन्न भएको आयोजक संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । महोत्सवमा किसान, उद्यमीहरुलाई सम्मानका साथै पुरस्कृतसमेत गरिएको छ ।

बिदुर नगरपालिका–४ स्थित बिदुरको विन्द्रलामार्गमा सन्चालित १२ दिने महोत्सवमा नुवाकोटका उत्पादनहरुको विक्री वितरण, कृषि उपजको प्रवद्र्धन, मनारेन्जन तथा खेल मेलामा दर्शकहरुको घुंइचो लागेको थियो । अध्यक्ष श्रेष्ठले कृषि, पर्यटन र व्यापारलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित महोत्सव सन्चालन गरिएको बताए ।महोत्सवको समापन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले ‘महोत्सवले पहिलो पटक उल्लेख्य दर्शकहरुको सहभागिता वटुलेको वताए ।

उनले महोत्सवले उत्पादन तथा वजारीकरणका साथै पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेलेकोसमेत वताए । नुवाकोटका किसान, उद्यमी र कलाकारलाई प्रत्यक्ष लाभ दिएर महोत्सव समापन भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तारावहादुर कार्कीले वताए । उनले अगडि भने– ‘स्थानीय उत्पादनको पहिचान र बजारीकरण महोत्सवको मुख्य प्राथमिकता रहेकोमा महोत्सवले आफ्नो लक्ष्य टेकेको छ ।’

महोत्सवमा किसानले उतपादन गरेका अर्गानिक उत्पादनहरु कुभिण्डो, अमारो तथा अन्य कृषि उपजहरुमासमेत दर्शकहरुको आकर्षण देखिएको थियो । महोत्सव अवधिभर आर्थिक तथा व्यवसायिक गतिविधि बढ्नुका साथै होटेल, यातायात, कृषि बजार र साना व्यवसायमा उल्लेख्य चहलपहल रहेको संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीको भनाई छ । उनका अनुसार महोत्सवमा नुवाकोटका किसान तथा उत्पादकले तयार पारेका कृषि उपज, प्रशोधित खाद्य सामग्री र घरेलु हस्तकलाका उत्पादनलाई विशेष प्राथमिकताका साथ प्रदर्शनी तथा बिक्रीमा राखिएकोमा दर्शकहरुको रुचि वढेको थियो ।

दुईसय ५० स्टल रहेकोमा स्थानीय उत्पादनकर्तालाई स्टल निःशुल्क उपलब्ध गराइएको थियो । महोत्सवमा किसान तथा साना उद्यमीलाई कुनै अतिरिक्त शुल्क नलिई आफ्ना उत्पादनको विक्रि वितरण र बजारीकरणको अवसर प्रदान गरिएको थियो । ‘महोत्सवले स्थानीय उत्पादनलाई बिचौलियाबिना उपभोक्तासम्म पु¥याउने अवसर मिलेको छ’ संघका महासचिव उपेन्द्र वुढाथोकीले भने, ‘यसले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सहयोग पुगेको छ ।’

नुवाकोटको ऐतिहासिक, धार्मिक र प्राकृतिक पर्यटनलाई प्रवद्र्घन गर्न महोत्सव प्रभावकारी हुनुका साथै महोत्सव नाचगान र अन्य सामग्री विक्री गर्ने थलोको रुपमा विकसित भएको छ । महोत्सव स्थलमा नुवाकोटका प्रमुख धार्मिक, ऐतिहासिक, पर्यटकीय गन्तव्य, सांस्कृतिक सम्पदा र ऐतिहासिक पहिचान झल्किने सामग्री प्रदर्शन गरिएकोमा दर्शकहरुको आकर्षण वढेको संघका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठको भनाई छ । महोत्सवमा अर्गानिक उत्पादन गरिरहेका लिखु गाउँपालिका–४ चौघडाका रामचन्द्र अगस्तीलाई सम्मान गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै कृषि कर्म गरी कुभिन्डो खेती तथा अर्गानिक तरकारी खेती तथा कृषि औजारको उत्पादन, विस्तार तथा प्रबद्र्धनमा सक्रिय रहेका किसान अगस्तीलाई सम्मान गरिएको आयोजकले जनाएको छ । अगस्तीको कृषि यात्राले युवालाई स्वदेशमै अवसर खोज्न प्रेरणा दिएको आयोजकको भनाई छ । महोत्सवमा कृषि उत्पादन प्रदर्शनीतर्फ तादी गापा ५ का प्रकाश राजभण्डारी प्रथम, विदुर नगरपालिका–३ स्थित सीता कृषि तथा पशुपन्छी फर्म द्वितीय र ककनी गाउँपालिकाका काफलडाँडा स्ट्रबेरी फर्म तृतीय भएको सङ्घका प्रथम उपाध्यक्ष तथा कृषि प्रदर्शनी व्यवस्थापन उपसमितिका संयोजक दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।

घरेलु लघु उद्यमतर्फ माटोको भाँडा बनाउने मीनकुमार कुमाल प्रथम, ईश्वरी दुना टपरी उद्योग द्वितीय र हस्तकला ढाका झोला उद्योग तृतीय भएका छन् । महोत्सव अवधिमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता र जिल्लास्तरीय लोकदोहोरी पनि गरिएको थियो । महोत्सवमा सवै स्टलहरु भरिनुका साथै कृषि तथा घरेलु उत्पादनदेखि अन्तर्राष्ट्रिय ब्राण्डका सामग्रीहरू समेत प्रदर्शनी गरिएको सङ्घका प्रवक्ता सुमन भण्डारीले जानकारी दिए ।

महोत्सव अवधिभर विभिन्न कलाकारहरुले मनोरन्जनात्मक तथा सांगीतिक कला प्रस्तुत गरेका थिए । महोत्सवले जिल्लाको आर्थिक चलायमानता बढाउनुका साथै कृषि, घरेलु उद्योग, संस्कृति र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ । ठुलो संख्यामा दर्शकको सहभागिताले स्थानीय व्यापारी, किसान तथा उद्यमीलाई प्रत्यक्ष लाभ पुगेको आयोजक संघका कोषाध्यक्ष मेघनाथ घिमिरेको भनाई छ ।

उनका अनुसार महोत्सवले उतपादन वजारीकरण, पर्यटन कला तथा मनोरन्जनलाई समेटेको छ । महोत्सवको समापन गर्दै विदुर नपाका मेयर राजन श्रेष्ठले नुवाकोटको आर्थिक र पर्यटन विकासका लागि महोत्सव सफल रहेको बताए । महोत्सव अवधिमा विद्यालयस्तरीय नृत्य तथा जिल्लास्तरीय लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगिताले विद्यार्थी र स्थानीय कलाकारको प्रतिभा उजागर गर्न सहयोग पु¥याएको आयोजकले जनाएको छ । महोत्सवमा करिब २५० वटा स्टलमार्फत कृषि तथा घरेलु उत्पादन, हस्तकला सामग्रीदेखि अन्तर्राष्ट्रिय ब्राण्डका अटोमोबाइलहरू समेत प्रदर्शनीमा राखिएको सङ्घका प्रवक्ता सुमन भण्डारीले जानकारी दिए । उनले महोत्सवले स्थानीय उद्यमी र व्यवसायीलाई आफ्ना उत्पादनको प्रचार–प्रसार र बजार विस्तार गर्ने अवसर दिएको बताए ।

आयोजकका अनुसार नवौँ नुवाकोट महोत्सवले जिल्लाको आर्थिक गतिविधि बढाउनुका साथै सामाजिक एकता, सांस्कृतिक संरक्षण र पर्यटन प्रवद्र्धनमा दीर्घकालीन सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालिएको छ । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई नुवाकोट भ्रमणतर्फ आकर्षण गरेको छ । महोत्सवले नुवाकोटमा आर्थिक चलायमान गराउनुका साथै सबै जातजाति, भाषा र संस्कृतिको साझा थलोका रूपमा विकास गर्न सांस्कृतिक झाँकी, मौलिक नृत्य, भेषभूषा र परम्परागत कलासमेत प्रस्तुत गरिएको आयोजक संघका कोषाध्यक्ष मेघनाथ घिमिरेले वताए ।

उनका अनुसार जिल्लाका नवप्रतिभा कलाकारलाई विशेष स्थान दिइएको थियो । विभिन्न प्रकृतिका कलाकारहरु हास्य प्रहसन, गीत, संगीत, मनोरन्जन, नांचगान दैनिक रुपमा प्रस्तुती गरिएको थियो । यसका साथै, महोत्सवले नुवाकोटको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारेको आयोजकले जनाएको छ ।

स्थानीय व्यवसायी, होटल व्यवसायी, यातायात सेवा प्रदायकदेखि साना व्यापारीसम्मलाई प्रत्यक्ष लाभ पुगेको आयोजकको दाबी छ । १२ दिनसम्म चलेको महोत्सवले नुवाकोटको आर्थिक गतिविधिलाई चलायमान बनाएको आयोजकले जनाएको छ । नुवाकोट उद्योग वाणिज्य संघका द्वितिय उपाध्यक्ष सविन राजभण्डारीका अनुसार नवौं नुवाकोट महोत्सव मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई कृषि, पर्यटन र व्यापारको दिगो विकासका लागि एउटा महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित भएको छ ।

महोत्सवमा स्थानीय उत्पादन, वजारीकरण, प्रवद्र्धन, कला, संस्कृतिको प्रवद्र्धन गरिएको राजभण्डारीको भनाई छ । आयोजक आयोजक नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठका नुवाकोटको कृषि, पर्यटन र व्यापारलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित महोत्सव सम्पन्न गरिएको बताए । महोत्सवमा नुवाकोटका १२ वटै स्थानीय तहमा उत्पादित स्थानीय वस्तु तथा, सांस्कृतिक भेषभुषाको प्रदर्शन गरिएको छ ।

प्रत्येक दुई/दुई वर्षमा महोत्सवको आयोजना गर्दै आएको संघले यसअघिको आठौं नुवाकोट महोत्सव पनि विदुरमा नै सम्पन्न गरेको थियो । आठौं महोत्सवमा ५ करोड भन्दा बढिको कारोबार तथा ३५ लाख नाफा कमाएको संघले यसपटक पनि सोही अनुसारमा महोत्सव सफल हुने दावी गरेको छ । महोत्सवले नुवाकोटको पहिचान, व्यापार प्रवद्र्वन तथा पर्यटन विकासमा महोत्सव योगदान दिने खालको हुनुपर्नेमा सरोकारवालाहरुले समेत जोड दिँदै आएका छन् ।

महोत्सवले नुवाकोटमा सम्भावनाका अवसरहरुलाई उजागर गर्ने लक्ष्य लिएको छ । नवौं नुवाकोट महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । केहि दिनमा महोत्सवको आयव्यय विवरण सार्वजनिक गरिने आयोजकले जनाएको छ ।


सर्वाधिक रुचाइएको