कुखुरा फार्ममा आगजनी
बिदुर– नुवाकोटको पुर्वी भेगमा रहेको ककनीको बालुवाखोलामा रहेको कुखुरा फार्मममा आगजनी भएको छ । आगजनीमा परि एकहजार कुखुराका साथै कुखुराको दाना तथा अन्य सामग्रीहरु जलेर नष्ट भएको छ ।

प्रहरीले उक्त घटनामा संलग्न भएको अभियोगमा एक जना युवकलाई पक्राउ गरेको छ । सुदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको ककनी गाउँपालिका .३ बालुवाखोलामा स्थानीय बिष्णुप्रसाद बजगाईको कुखुरा फर्ममा आगोलागी हुँदा उक्त कुखुरा फर्ममा पालिएका एक हजार कुखुराहरु, फर्म (टहरो) र कुखुराको दानालगायत फर्म भित्र रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार घटनालगत्तै प्रहरी अधिकृतसहितको टोली खटेर गई प्रारम्भिक अनुसन्धानको क्रममा रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका ७ स्थायी घर भई हाल सोही कुखुरा फर्ममा काम गर्ने २६ वर्षिय सुमन बिकले आगो लगाएको खुल्न आएकोले उनलाई पक्राउ गरि आवस्यक कारवाही सुरु गरिएको हो । पक्राउ परेका युवक विकलाई विहीवार नुवाकोट जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धि कसुर मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद थप अनुमति लिई घटनामा भएको क्षतिको विवरण संकलनसहित थप अनुसन्धान कार्य भई रहेको नुवाकोट प्रहरीले जनाएको छ ।












































