बिद्यार्थीहरुलाई व्यवहारिक शिक्षा
बिदुर– नुवाकोटको देवीघाटमा रहेको एक विद्यालयमा आफ्ना विद्यार्थीहरुलाई ब्यबहारिक शिक्षा दिन सुरु गरेको छ । विद्यार्थीहरलाई दैनिक जीवनमा आवस्यक पर्ने दुना टपर िगांस्ने सिप सिकाइएको छ ।

बिदुर नगरपालिका ५ देवीघाटस्थित शहिद जगतप्रकाश जंग शाह संस्कृत माबिले आफ्ना बिद्यार्थीहरुलाई ब्यबहारिक शिक्षाको लागि सालको पातबाट दुना टपरी गास्न सिकाएको हो । सालको पातको दुना टपरी बनाउन विद्यार्थीहरूलाई सिकाउनु नेपालीको संस्कार र परम्पराका साथ सीप हस्तान्तरण गरेर आत्मनिर्भरताको अभ्यास गराउनु रहेको प्रधानाध्यापक मन्जु चित्रकारले वताइन् ।

कक्षाकोठाभित्र सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै विद्यार्थीहरूले आफ्नै हातले दुना र टपरी तयार गरेर उनीहरूमा सिर्जनशीलता, सहकार्य र परिश्रमप्रतिको विस्वास झनै बलियो भएको उनको भनाई छ । विद्यार्थीका हातले बनाएको टुना टपरीका सामग्री यहि फागुन ७ गते विहीवार सोही विद्यालयको आयश्रोत जुटाउन आयोजित वटुकहरुको सामूहिक ब्रतबन्ध धार्मिक तथा सामाजिक कार्यक्रममा प्रयोग गरिने छ ।

यसले विद्यार्थीहरूमा “हाम्रो सीप, हाम्रो संस्कार” भन्ने भावना जागृत गराउने विद्यालयले जनाएको छ । परम्परालाई जोगाउदै वातावरणमैत्री सामग्रीको प्रयोग गर्नु आजको आवश्यकता रहेको र सालको पातबाट बनेका दुना टपरीले प्लास्टिकजन्य वस्तुलाई विस्थापित गर्दै प्रकृतिप्रतिको जिम्मेवारी पनि दर्शाउने शिक्षकहरु वताउंछन् ।
यसले विद्यालयमा अध्यनसंगै सिकेको सीप समाज र संस्कारसंग जोडिएर शिक्षा साँच्चै जीवनोपयोगी र सार्थक बन्ने जनाइएको छ । उक्त विद्यालय संस्कृत अध्यापन गर्ने नुवाकोटको एकमात्र मावि हो ।















































