दुप्चेश्वरमा भक्तजनलाई स्वास्थ्य सेवा

– सेनाद्वारा यात्रु सहायता कक्ष सन्चालन
लोकखबर
२०८२ फाल्गुन ४, सोमबार ००:१२

बिदुर– नुवाकोटको प्रसिद्ध दुप्चेश्वरमा नेपाली सेनाले स्वास्थ्य सेवा प्रदान गरेको छ । महाशिवरात्री तथा २६३ औं सेना दिवसका अवसरमा सेनाले पशुपतिनाथको पर्यायाको रुपमा रहेको दुप्चेश्वरमा यात्रु सहायता कक्षसहित स्वास्थ्य सेवा प्रदान गरेको हो ।

यात्रु सहायता कक्ष सञ्चालनका लागि बट्टारको शेर गणबाट स्वास्थ्य अधिकृतको सहिते टोली खटिएको थियो । सेनानी समिरमान गुरुङको नेतृत्वमा खटिएको ३० जनाको टोलीले उक्त सहायता कक्षमार्फत सयौं भक्तजन तथा स्थानीय बासिन्दाले सेवा दिएको थियो ।

दुप्चेश्वर गाउँपालिका–६ स्थित प्रसिद्ध दुप्चेश्वर महादेव धाममा दर्शन गर्न आएका भक्तजन तथा स्थानीय बासिन्दाको सहयोगार्थ स्वास्थय सेवासहितको सहायता कक्षवाट एकसय ३१ जनाले प्रत्यक्ष सेवा लिएको गणपति प्रमुख सेनानी आविस्कार ढुङ्गानाको भनाई छ । करिव सात हजार भक्तजनहरूको आगमन रहेको दुप्चेश्वर धामको शिवरात्री मेलामा स्वास्थ्य तथा परामर्श सेवा प्रदान गरिएको हो ।

यसले स्वास्थ्य सुरक्षाप्रति सकारात्मक प्रभाव, नागरिक–सैनिक सम्बन्ध सुदृढीकरण तथा ग्रामीण भेगमा सेनाको सेवाले स्थानीयलाई स्वास्थ्य सेवाकोसमेत प्रत्याभूति दिलाएको पाइएको सेनाले जनाएको छ । उक्त सहायता कक्षमा पुगेर प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मी, सेनाको गणपति प्रमुख सेनानी आविस्कार ढुङ्गाना तथालगायतले स्वास्थ्य सेवाको अवस्थाका सम्वन्धमा स्थलगत जानकारी लिएका थिए ।

दुप्चेश्वरमा नेपालका साथै भारतवाट समेत हिन्दु तथा वौद्धमार्गीहरु आउने दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिए ।


सर्वाधिक रुचाइएको