वनडढेंलो नियन्त्रण सम्वन्धि सचेतना
बिदुर– सुख्खायामको सुरुवातसंगै नुवाकोटमा वनडढेलो नियन्त्रण अभियान सन्चालन गरिएको छ । सरोकारवालालाई वनडढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि सचेतना प्रदान गरिएको हो । वन जोगाऔँ, वातावरण बचाऔँ, सुरक्षित भविष्य निर्माण गरौँ भन्ने मुल नाराका साथ डिभिजन वन कार्यालय नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रममा सामुदायिक तथा निजी वनका प्रतिनिधि सुरक्षा निकाय तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

सहभागीहरुले वनडढेलो नियन्त्रणका लागि सवै क्षेत्र तथा समुदायको सक्रियताको जरुरी रहेको ठहर गरेका छन् । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले वनडढेलो न्यूनीकरणका लागि पूर्वतयारी, समन्वय र स्थानीय तहदेखि समुदायसम्मको सक्रिय सहभागिता अत्यन्त आवश्यक रहेको बताए । उनले सुख्खायामको सुरुवातसंगै गाउंसमाजमा यसको सचेतना आवस्यक रहेको वताए ।

सोही कार्यक्रममा डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख प्रदीपनाथ शर्माले वन क्षेत्रमा बढ्दो डढेलोको जोखिम कम गर्न सचेतना, तालिम र उपकरण व्यवस्थापनलाई प्राथमिकतामा राखिएको वताए । कार्यक्रममा वन अधिकृत कमल घिमिरेले वनडढेलाको नियन्त्रणका लागि समुदाय, उपभोक्ता, सरोकारवाला कार्यालय र सुरक्षा निकायवीच साझेदारीमा विभिन्न कार्य भइरहेको वताए ।

सोही कार्यक्रममा अर्का वन अधिकृत शालिग्राम भट्टराइले वन क्षेत्रको संरक्षण र सुरक्षाका लागि कार्यालयले विभिन्न जनचेतचनामुलक कार्य गरिरहेको वताए । कार्यक्रममा सुरक्षा निकाय, अनुसन्धान तथा वन क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, वन क्षेत्रका अगुवा तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई वनडढेलोबाट हुने सम्भावित क्षति, रोकथामका उपाय, नियन्त्रणका व्यवहारिक विधि, विपद् व्यवस्थापन तथा सामुदायिक भूमिकाबारे विस्तृत जानकारी दिइएको थियो । सहभागीहरूले वन संरक्षणमा सामूहिक प्रतिबद्धता व्यक्त गर्दै डढेलो नियन्त्रणमा सक्रिय रहने बताएका छन् ।





















































