पुर्वमन्त्रि डा. महतले सार्वजनिक गरे प्रतिज्ञापत्र

– पुर्वाधार विकास पहिलो प्राथमिकता
लोकखबर
२०८२ फाल्गुन १२, मंगलवार २३:३७

बिदुर– पुर्वमन्त्रि तथा नुवाकोट १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । पुर्वाधार निर्माणलाई प्राथमिकता दिएका छन् । डा. महतले पत्रकार सम्मेलनमार्फत मंगलवार आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्दै समग्र नुवाकोटको विकासलाई तिव्रता दिने प्रतिवद्धता जनाएका छन् । ‘मेरो प्रतिबद्धता’ शीर्षकमा सार्वजनिक घोषणापत्रमा उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल मन्त्रलाई आत्मसात गर्दै स्थिर राजनीति र दिगो विकासमार्फत समृद्ध नुवाकोट निर्माण गर्ने योजना व्यक्त गरेका हुन् । प्रतिबद्धतापत्रमा पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्दै निर्माणाधिन सडक योजनाहरू समयमै सम्पन्न गर्ने, वैकल्पिक मार्गहरूको स्तरोन्नति गर्ने तथा रणनीतिक सडक सञ्जाल विस्तार गर्ने उल्लेख गरिएको छ ।

बाढी–पहिरो नियन्त्रण, सुरक्षित बस्ती व्यवस्थापन र स्वच्छ खानेपानी विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ । डा. महतको प्रतिज्ञा पत्रमा कृषि तथा किसान सशक्तीकरणतर्फ आधुनिक कृषि प्रणाली विस्तार, बीउ–मलको सहज उपलब्धता, स्थानीय उत्पादनको बजारीकरण तथा चिस्यान केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ । साथै किसानलाई उत्पादनसँगै प्रशोधन र मूल्य अभिवृद्धिमा जोड्दै आयआर्जन वृद्धि गर्ने लक्ष्य लिइएको छ ।

पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने रणनीति तय गरिएको छ । स्थानीय स्तरमै रोजगारी सिर्जना हुने गरी पर्यटन पूर्वाधार विकास गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । शिक्षा र स्वास्थ्य क्षेत्र सुधारतर्फ प्राविधिक शिक्षाको विस्तार, विद्यालयको गुणस्तर अभिवृद्धि तथा क्षेत्रमै सुविधासम्पन्न स्वास्थ्य सेवा विस्तार गर्ने योजना डा. महतको पत्रमा समेटिएको छ ।

युवालाई सीपमूलक तालिम, उद्यमशीलता प्रवद्र्धन र रोजगार सिर्जनामा जोड दिइने उल्लेख छ । साथै महिला सशक्तीकरण, खेलकुद विकास र सामाजिक सहभागितालाई पनि विशेष प्राथमिकता दिइएको छ । उम्मेदवार डा. महतले विकासलाई कुनै एक दलको नभई सम्पूर्ण जनताको साझा एजेन्डा भएको उल्लेख गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।


सर्वाधिक रुचाइएको