टाटासुमो दुर्घटनामा ६ जना घाइते

– चालकसहितको काठमाडौंमा उपचार हुंदै
लोकखबर
२०८२ फाल्गुन १३, बुधबार १४:१९

बिदुर – नुवाकोटको  मध्यपहाडि सडकमार्ग अन्र्तगत थानसिङमा यात्रुवाहक टाटासुमो दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् ।

सदरमुकाम विदुरदेखि २८ किलोमिटर पुर्वमा रहेको उक्त सडकमार्ग अन्र्तगत नुवाकोटको लिखु गाउंपालिका  ६ थानसिङस्थित फंगटेमा वुधवार दुर्घटनाग्रस्त भएको हो । दुप्चेश्वरबाट काठमाडौतर्फ जांदै गरेको ना१ज ६६६५ नं.को टाटासुमो टोखा–छहरे सडकखण्डको उक्त स्थानमा पुगेपछि अनियन्त्रित भई खेतमा पुगेर दुर्घटनाग्स्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उक्त गाडी सडकमार्गबाट दुई मिटर तल पुगेर दुर्घटनाग्रस्त हुदा गाडीका चालकसहित त्यसमा सवार ६ जना घाईते भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । स्थानीयवासी, प्रहरीले उद्धार गरि तत्काल उपचारको लागि स्थानीय स्वास्थ्यसंस्थामा पठाएकोमा प्राथमिक उपचारपश्चात थप उपचारको लागि ६ जनालाई नै काठमाडौको ग्राण्डी अन्र्तराष्ट्रिय अस्पताल लगेर उपचार सुरु गरिएको डिएसपि लामाले वताए ।

दुर्घटनामा टाटासुमो चालक नुवाकोटको दुप्चेश्वर गापा १ का २१ वर्षिय पृतम तामाङ,  नाम, ठेगाना नखुलेकी ४२ वर्षिया एक महिला,  ठेगाना  नखुलेको ५६ वर्षिय राल्पा तामाङ ठेगाना नखुलेको ६८ वर्षिय श्रीमान तामाङ, ललीतपुर इमाडोल बस्ने ३५ वर्षिया गोरीमाया सुनार र नाम, ठेगाना नखुलेकी ६५ वर्षिया वृद्धा रहेको नुवाकोट प्रहरीले जनाएको छ  । प्रहरीका अनुसार एक महिलाको अबस्था गम्भीर रहेको छ ।

धेरैको शरिर, हात, खुट्टा,  करङ र ढाडमा चोट लागेको छ । दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ ।


सर्वाधिक रुचाइएको