युवा, विद्यार्थी एमाले प्रवेश
बिदुर– निर्वाचनको समय नजिकिदै जांदा नुवाकोटमा दल प्रवेश गर्नेहरुको लहर वढिरहेको छ । यसै क्रममा नुवाकोट १ मा नेकपा एमाले प्रवेश गर्नेको लहर बढेको सो दलले जनाएको छ । पुर्वी भेगमा रहेको लिखु र पञ्चकन्याबाट विभिन्न दल परित्याग गरी युवाहरू एमालेमा प्रवेश गरेको एमाले नुवाकोटका सचिवालय सदस्य दीपक कार्कीले जानकारी दिएका छन् ।

नवप्रवेशी युवाहरूलाई एमाले उम्मेदवार बद्री मैनालीले पार्टीमा स्वागत गरेका हुन् । हालसम्म कांग्रेस, नेकपा, रास्वपालगायतका विभिन्न दल परित्याग गरि एक हजारभन्दा बढी कार्यकर्ता तथा समर्थक एमालेमा आबद्ध भइसकेको सचिवालय सदस्य कार्कीले जानकारी दिएका छन् । नुवाकोट क्षेत्र नं १ मा विहीवार विभिन्न दल परित्याग गरी ११ जना नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले उम्मेदवार बद्री मैनाली नेतृत्वको कार्यक्रममा लिखु गापाका सरोज तामाङ, सुमन तामाङ, जंगवहादुर तामाङ, जीवन तामाङ, अशोक तामाङ, प्रताप तामाङ, दीपेन्द्र लामा, राजु तामाङ, राजन विक, अनील तामाङले विभिन्न दल परित्याग गरी एमालेमा औपचारिक प्रवेश गरेका हुन् । नेकपा परित्याग गरि सविन तामाङ एमालेमा प्रवेश गरेका हुन् । उनी पञ्चकन्या गापाका हुन् ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै नुवाकोट १ का उम्मेदवार मैनालीले पार्टीलाई अझ सुदृढ र बलियो बनाउन सबैको साथ आवश्यक रहेको बताए । उनले एमालेको नीति, विचार र विकासको एजेण्डाप्रति आकर्षित भएर विभिन्न दलका नेता–कार्यकर्ता एमालेमा समाहित भइरहेको दाबी गरे ।

यस प्रवेशसँगै नुवाकोट १ मा एमालेको संगठन थप सशक्त बन्दै गएको मेनालीको भनाई छ । उनले युवाहरूको सहभागिताले पार्टी अझ सशक्त बन्दै गएको बताउँदै आगामी निर्वाचनमा जनताको साथ र समर्थन झनै मजबुत हुने विश्वास व्यक्त गरे ।












































