खरानीटारमा कांग्रेसको चुनावी सभा

– प्रजातान्त्रिक शक्तिहरु एकजुट हुन जरुरी
लोकखवर राजनीतिक व्युरो
२०८२ फाल्गुन १७, आईतवार ०३:०१

बिदुर– निर्वाचनको तयारी स्वरुप नुवाकोटको खरानीटारमा नेपाली कांग्रेसको चुनावी सभा सम्पन्न गरेको छ । क्षेत्र नं. १ को खरानीटारमा आयोजित संयुक्त चुनावी सभामा पुर्वमन्त्रि, केन्द्रीय नेता तथा उम्मेदवारहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागी नेताहरुले २००७ सालदेखिको देशको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको दावी गरे ।

उनीहरुले प्रजातान्त्रिक शक्तिहरु मिलेर देशको मुहार फेर्नु पर्नेसमेत वताए । कार्यक्रममा कांग्रेस नेता तथा पुर्वमन्त्रि अर्जुननरसिंह केसी, सहमहामन्त्रि वहादुरसिंह लामा, उम्मेदवार डा. प्रकाशशरण महतलगायतले मन्तव्य राखेका थिए । चुनावी प्रचारप्रसारको माहोल सृजना गर्ने उद्देश्यसहित कांग्रेस १ नं. क्षेत्रिय समितिले सो कार्यक्रम गरेको हो ।

देशमा कांग्रेसको योगदान, विकास प्रतिको प्रतिबद्धता र जनपक्षिय योजनाले मतदातामा थप उत्साह थपिएको कांग्रेस क्षेत्रिय सभापति ध्रुव श्रेष्ठले वताए । उक्त सभामा विभिन्न वक्ताहरूले नुवाकोटको विकास, रोजगारी सृजना, शिक्षा तथा पूर्वाधार विस्तारका विषयमा गरेको कार्यको मुल्यांकन गर्न सर्वसाधारण्लाई आग्रह गरेका छन् । नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्रि अर्जुननरसिंह केसीले देश संकटको अवस्थामा रहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा, विधिको शासन सुनिश्चितता र स्थिरताका लागि नेपाली कांग्रेस सत्ताको नेतृत्वमा पुग्न आवश्यक रहेको बताए ।

नुवाकोटमा कांग्रेसको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले नुवाकोट जिल्ला नेपाली कांग्रेसको गढ भएकाले विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे । उनले वर्तमान राष्ट्रिय राजनीति अत्यन्त तरल अवस्थामा रहेको भन्दै देश अझ कमजोर हुने खतरा विद्यमान रहेको बताए । देशमा विद्यमान परिस्थितिबाट देशलाई जोगाउन जरुरी रहेको र लोकतन्त्रलाई मजबुत पार्न जरुरी छ, विधिको शासन सुनिश्चित गर्न जरुरी रहेको केसीको भनाई छ ।

कार्यक्रममा कांग्रेस सहमहामन्त्रि वहादुरसिंह लामाले देशमा विनास नभई निर्माण गर्न जरुरी रहेको उल्लेख गर्दै ‘भत्काउन सजिलो हुन्छ । तर बनाउन समय, स्रोत–साधन, भिजन र मिसन चाहिन्छ, हामी बनाउने योद्धा हौँ, विनाश गर्ने होइन’–भने । उनले विशेष परिस्थितीमा देशमा ८४ को अगावै ८२ मा निर्वाचन हुन लागेकाले यस चुनावको महत्व अझ बढेको उल्लेख गरे । उनले स्थिरता र लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेसजस्तो परिपक्व पार्टी सत्ताको नेतृत्वमा पुग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा उम्मेदवार डा. प्रकाशशरण महतले संसदमा अत्याधिक संख्याका साथ कांग्रेस उपस्थित भए मात्र देशले स्थायित्व प्राप्त गर्ने वताए । ‘आजको विशिष्ट परिवेशमा जुन ८४ को सट्टा ८२ मा निर्वाचन हुँदैछ त्यसैले यसको महत्व छ, यसमा कांग्रेस जस्तो पुरानो पार्टी सत्ताको नेतृत्वमा पुग्न जरुरी रहेको र संसदमा अत्याधिक संख्याको साथ संसदमा पुग्न जरुरी छ त्यो भयो भने मात्र देशले स्थिरता प्राप्त गर्छ र लोकतन्त्र संस्थागत हुन्छ’ –डा. महतले अगाडि भने ।

उनले नयाँ राजनीतिक दलहरूतर्फ संकेत गर्दै ती दलहरूको उदय र विसर्जनबारे नै स्पष्टता नभएको टिप्पणी गरे । ‘नयाँ पार्टी कहाँबाट सुरु हुन्छ, कहाँबाट अन्त्य हुन्छ, कहाँबाट पैदा हुन्छ र कहाँबाट विसर्जन हुन्छ भन्ने नै थाहा छैन, मिसन र भिजनको अत्तोपत्तो छैन, यस्तो अवस्थामा नयाँ पार्टी विकल्प हुन सक्दैन,’ उनले भने ।


सर्वाधिक रुचाइएको