चलचित्र कथा लेखन कार्यशाला
बिदुर– परिवर्तित समय अनुसार “चलचित्र कथा–लेखन सम्बन्धिे आधारभूत कार्यशाला” सम्पन्न भएको छ । तेश्रो चरणको प्रशिक्षण सम्पन्न भएको हो । नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालन गरिएको “चलचित्र कथा–लेखन सम्बन्धि एक दिने आधारभूत कार्यशाला” को तेस्रो तथा अन्तिम संस्करण सम्पन्न भएको छ ।

नेपाल फिल्म क्याम्पसको स्टुडियोमा आयोजित उक्त कार्यशालामा कथा लेखनमा रुचि भएका २५ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा भारतको फिल्म एंड टेलिभिजन इन्स्टीच्युट अफ इंडिया बाट पोस्ट–ग्राजुएट गरी हाल नेपाल फिल्म क्याम्पसमा फिल्म निर्देशन विभाग प्रमुखका रूपमा कार्यरत केशव पाण्डेले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनले चलचित्र कथा विज्ञान, कथाको संरचना, चरित्र निर्माण, द्वन्द्व विकास र कथा लेखन प्रक्रियाका आधारभूत सिद्धान्तबारे प्रशिक्षण दिएका थिए ।

सहभागीहरुलाई पटकथा लेखक तथा फिल्म पत्रकार सामिप्यराज तिमिल्सिनाले “नेपाली चलचित्रमा कथा” शिर्षकमा विशेष सत्र सञ्चालन गर्दै नेपाली चलचित्रको कथागत प्रवृत्ति, बजारको आवश्यकता र मौलिक विषयवस्तुको महत्वबारे प्रस्तुति दिएका थिए । तीन संस्करणमा सम्पन्न यस कार्यशालामा कुल ७५ जना प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागीमध्ये उत्कृष्ट कथा लेखन क्षमता देखाउने १० जनालाई छनोट गरी आगामी दिनमा विशेष पटकथा लेखन सम्बन्धी उन्नत कार्यशाला सञ्चालन गरिने नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले जानकारी दिए ।

उनका अनुसार नयाँ पुस्ताका सृजनशील लेखकहरू उत्पादन गर्दै नेपाली चलचित्र क्षेत्रमा गुणस्तरीय कथाको अभाव पूर्ति गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको हो ।तालिमको समापन गर्दै चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीले यस प्रकारको कार्यक्रमले चलचित्र क्षेत्रमा कथाको स्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको वताए । कार्यशालामा चलचित्र कथा–विज्ञान, कथाका आधारभूत तत्वहरू, पात्र निर्माण, संरचना तथा कथा लेखन प्रक्रियाबारे सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिइएको थियो ।

सहभागीहरूले कथा चयन र प्रस्तुतीका सम्वन्धमा प्रयोगात्मक अभ्याससमेत गरेको कार्यशालाका समन्वयकर्ता विनोद खतिवडाले वताए । कार्यशालालाई उपयोगी, प्रेरणादायी र सिकाइमुखी भएको प्रतिक्रिया दिएका छन् । पहिलो चरणको तालिम गत पुस, दोश्रो चरणको गत माघ र तेश्रो चरणको कार्यक्रम फागुनको दोश्रो साता सम्पन्न गरिएको छ । यस तालिमवाट चलचित्रका कथा लेखकहरु उत्पादन हुने आयोजकको लक्ष्य रहेको छ ।














































