समानुपातिकतर्फ १ मा पनि रास्वपा पहिलो
बिदुर – यहि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यतर्फको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतगणना नुवाकोट १ मा मंगलवार सकिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सो क्षेत्रमा प्रत्यक्षमा विजयी रास्वपाले नै सबैभन्दा धेरै मत प्राप्त गरेको छ ।समानुपातिकतर्फ सो क्षेत्रमा कुल एकलाख २३ हजार नौसय २९ मतदाता रहेकोमा ७१ हजार दुईसय ४७ मत खसेको थियो ।

त्यसमध्ये ६८ हजार चारसय १७ मत सदर भएको थियो । समानुपातिकतर्फ दुईहजार आठसय ३० मत बदर भएको छ । रास्वपाले २४ हजार सातसय ६१ मत ल्याएर पहिलो भएको छ । सो क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका डा. विक्रम तिमिल्सिना २२ हजार ६ सय नौ मत ल्याएर विजयी भएका थिए ।

समानुपातिकमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १५ हजार ६सय पांच मत पाएको छ । सो क्षेत्रमा नेकपाले १० हजार ६ सय ८१, नेकपा एमालेले सात हजार सात सय ६१ मत प्राप्त गरेको छ । राप्रपाले एकहजार सातसय ४१ मत पाएको छ ।

राष्ट्रिय परिवर्तन पार्टीले पांचहजार पांचसय सात मत, श्रम संस्कृति पार्टीले ६ सय सात मत पाएको छ । सो क्षेत्रको समानुपातिकमा उन्नत लोकतन्त्र पार्टीले शुन्य र मितेरी नेपाल पार्टीले एक मत पाएको छ । सो क्षेत्रमा प्रत्यक्ष भन्दा समानुपातिकतर्फ धेरै मत खसेको थियो ।

नुवाकोट १ मा एकलाख २३ हजार नौसय २९ मतदाता रहेका थिए । उक्त क्षेत्रमा रहेको कुल मतदातामध्ये समानुपातिकमा ७१ हजार दुई सय ४७ मत खसेको निर्वाचन अधिकृतको कार्यालय खरानीटारले जनाएको छ ।

रसुवामा कांग्रेस पहिलोः
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नुवाकोटको छिमेकी रसुवामा नेपाली काँग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । कांग्रेसले ९ हजार ६ सय मत ल्याएर पहिलो भएको छ । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।

रास्वपाले ७ हजार ६ सय १८ मत पाएको छ । नेकपा एमालेले ३ हजार ५ सय ८८ मत प्राप्त गरेको छ । उज्यालो नेपाल पार्टीले २ हजार एकसय ३५ मत पाएर चौथो बनेको छ । पाचौँ स्थानमा रहेको नेकपाले ९ सय ५७ मत पाएको छ । रसुवामा प्रत्यक्षतर्फ कांग्रेसका मोहन आचार्य विजयी भएका थिए ।












































