सांसद डा. लामिछानेले वुझाए निर्वाचन खर्च विवरण

– मनोनयनदेखि मतदाता नामावली प्रिन्टसमेत आठ शिर्षकमा खर्च
लोकखबर
२०८२ फाल्गुन २७, बुधबार २२:४३

बिदुर – प्रतिनिधि सभा सदस्य निर्वाचनमा नुवाकोटमा उम्मेदवारहरुले खर्च विवरण वुझाउन सुरु गरेका छन् । नुवाकोट २ का उम्मेदवार भई विजयी भएका रास्वपाका डा.अचुतम लामिछानेले वुधवार आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनका प्रतिनिधि रामेश्वर गजुरेलमार्फत वुझाइएको आठ वुंदे खर्च विवरणअनुसार मनोनयन दर्ता शुल्कदेखि मतदाता नामावली प्रिन्टसमेतका खर्च उल्लेख गरिएका छन् ।

चुनावी अभियानका क्रममा डा. लामिछानेले कुल १६ लाख नौहजार ९ सय ३० रुपैयाँ खर्च गरेको लिखित रुपमा वुझाइएको विवरणमा उल्लेख गरिएको छ ।विवरणअनुसार सबैभन्दा कम मनोनयन दर्ता शुल्क १० हजार र सवैभन्दा बढी रकम प्रचार–प्रसारमा खर्च भएको देखाइएको छ । प्रचार सामग्री छपाई तथा विद्युतीय माध्यम (सामाजिक सन्जालसमेत) मार्फत गरिएको प्रचारप्रसारमा ५ लाख ३२ हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ ।

सवारीसाधन तथा ढुवानीमा २ लाख ४५ हजार रुपैयाँ, गोष्ठी, अन्र्तक्रिया तथा सभामा (१५ दिनको) २ लाख ३५ हजार ३० रुपैयाँ, कार्यालय सञ्चालन खर्च (दुई महिनामा) एकलाख ६९ हजार चारसय रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ । डा. लामिछानेले प्रतिनिधि तथा स्वयंसेवक परिचालन र घरदैलो कार्यक्रममा दुईलाख १५ हजार रुपैयाँ, मतदाता नामावली खरिद तथा प्रिन्टमा एकलाख २९ हजार रुपैयाँ र विविध शीर्षकमा ७४ हजार ५सय रुपैयाँ खर्च भएको जनाइएको छ ।

उक्त खर्च विवरणमा उम्मेदवार डा. अचुतम लामिछानेका तर्फवाट निर्वाचन प्रतिनिधि रामेश्वर गजुरेलले हस्ताक्षर गरी निर्वाचन आयोग, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयसमक्ष पेश गरेको उल्लेख गरिएको छ । निर्वाचन ऐनअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि आफ्नो चुनावी खर्च विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।


सर्वाधिक रुचाइएको