सांसद तिमिल्सिनाको निर्वाचन खर्च १६ लाख
बिदुर– प्रतिनिधि सभा सदस्य निर्वाचनमा नुवाकोटका उम्मेदवारहरुले खर्च विवरण वुझाउने क्रमसंगै नुवाकोट १ मा उम्मेदवार भई विजयी भएका रास्वपाका डा.विक्रम तिमिल्सिनाले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनका प्रतिनिधि शिव थापामार्फत वुझाइएको पांचवुंदे खर्च विवरणअनुसार मनोनयन दर्ता शुल्कदेखि प्रिन्टिङ, छपाई स्टेशनरीका खर्च उल्लेख गरिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट १ मा उम्मेदवार भई सांसद विजयी डा. तिमिल्सिनाले विहीवार आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका हुन् ।

उनले आफ्ना प्रतिनिधिमार्फत निर्वाचन आयोगसमक्ष बुझाएको विवरण अनुसार निर्वाचन अभियानमा कुल १६ लाख ४७ हजार २ सय ४५ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । पेश गरिएको खर्च विवरणअनुसार सबैभन्दा बढी रकम प्रचार–प्रसार सामग्री (प्रिन्टिङ, छपाइ तथा स्टेसनरी) मा खर्च गरिएको उल्लेख छ । उक्त शिर्षकमा ६ लाख ७२ हजार २ सय ४५ रुपैयाँ खर्च भएको छ ।

सवारी साधन तथा ढुवानी भाडा अन्र्तगत १५ दिनको ३ लाख रुपैयाँ, प्रतिनिधि तथा स्वयंसेवक परिचालन र घरदैलो कार्यक्रमका लागि ४५ वडामा ३ लाख ७५ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ । छहरेस्थित सम्पर्क कार्यालय सञ्चालन तथा खाजा, पानी र स्टेसनरीका लागि २ लाख ९० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ । डा. तिमिल्सिनाले मनोनयन दर्ता शुल्कका लागि १० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

उक्त खर्च विवरण प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा निर्वाचन आयोगले स्वीकृत गरेको आचारसंहिताअनुसार जिल्ला निर्वाचन कार्यालय नुवाकोट, प्रदेश निर्वाचन कार्यालय र निर्वाचन आयोगमा पेश गरिएको छ । निर्वाचन ऐनअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि आफ्नो चुनावी खर्च विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।













































