नयां विषय पस्किदै मेरी बास्सै

– दर्शकहरुको मन जित्दै
लोकखवर मनोरन्जन संवाददाता
२०८२ चैत्र १६, सोमबार ०३:१३

बिदुर – लोकप्रिय एवं चर्चित हास्य टेलिश्रृंखला मेरी बास्सैले नयां विषय पस्किएपछि दर्शकहरुको मन जित्दै गएको छ । चर्चित तथा लोकप्रिय हास्य कलाकारहरुको अभिनय समेटिएको यस हास्य टेलिश्रृंखलाले समसामयिक विषय पस्किएर दर्शकहरुको मन जित्दै गइरहेको छ ।

देशको समसामयिक परिस्थितिसंगै यस लोकप्रिय एवं चर्चित हास्य टेलिश्रृंखला मेरी बास्सैले दर्शकहरुको भावनालाई समेटेर नयां विषयलाई उठान गरिरहेको निर्देशक तथा कलाकार दमन रुपाखेतिले जानकारी दिए । उनका अनुसार देशको वस्तुस्थितीलाई मध्यनजर गर्दै समसामयिक रुपमा आम नेपालीको विषयलाई उठान गरिरहेका छौं, लाखौं दर्शकहरुले मन पराउन थाल्नुभएको छ ।

मेरी बास्सै दमन रुपाखेतिकै निर्देशनमा दुई दशक अर्थात २० वर्ष अगाडिदेखि सुरु भएको थियो । विनासकारी भुकम्प, नाकावन्दी, कोरोना तथा जुनसुकै जटिल अवस्थामासमेत यसले निरन्तरता पाइरहेको लेखक तथा कलाकार दीवाकर भण्डारी सापटी काकाको भनाई छ ।

नेपाली समाजको कथालाई हास्यव्यंङ्ग्य तथा रोचक ढंगमा प्रस्तुत गरिने मेरी वास्सैले आफ्नो लोकप्रियता र व्राण्डको उचाइसंगै दर्शकहरुको मनसमेत जितेर लोकप्रियता हासिल गरिसकेको अर्का कलाकार तथा श्रृखला निर्देशक लेखान्त भुषाल घिरौंलेको भनाई छ । छायांकनमा आवस्यक विषय तथा परिवेश कुनैलाई पनि कम्प्रोमाइज नगरिएको उनले वताए ।

दर्शकमाझ लोकप्रियता कमाइरहेको मेरी वास्सै मिडिया हवले निर्माण गरेको हो भने प्रत्येक मंगलवार वेलुकी सांढे आठ वजे मिडिया हव अफिसियल युट्युव च्यानलमार्फत आइरहेको छ । छिट्टै नेपाल टेलिभिजनवाट प्रशारणमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।

मेरी वास्सैमा रामचन्द्र अधिकारी (गोख्ते काजी), सुरवीर पण्डित (दाह्री बा), सुरेन्द्र केसी (मुलासाग), पल्पसा डंगोल (चम्सुरी), निरु खड्का (निर्मली), दीवाकर भण्डारी (सापटी काका), लेखान्त भुषाल, (घिरौंले), यादव थापा (व्याजप्रसाद), साया भण्डारी (राधिका),  दीलिप ढकाल (जुल्फे)लगायत दुई दर्जन अन्य चिरपरिचित कलाकारहरुलाई समेत विशेष भूमिकामा देख्न सकिन्छ । मेरी वास्सैको दृश्य सम्पादन रविन भट्टले गर्दै आएका छन् ।

धेरै चर्चित कलाकारहरु जन्माइसकेको मेरी वास्सैमा दर्शकहरुकै रुचिको विषयलाई प्रमुखता दिइएको छ । आम दर्शकको विषयलाई उठान गरेका कारण यसलाई धेरैले मन पराइरहेका छन् ।


सर्वाधिक रुचाइएको