उत्खनन् गर्ने ट्रिपर नियन्त्रणमा
बिदुर – गृहमन्त्रि सुधन गुरुङले नदीजन्य पदार्थको दोहन गर्नेलाई कारवाही गर्न निर्देशन दिएको भोलिपल्ट नुवाकोटको लिखु खोलामा प्रहरीले अवैध रुपमा उत्खनन् गर्ने ट्रिपरलाई नियन्त्रणमा लिएको छ । ट्रिपरलाई जरिवाना गराइएको छ । गाउंपालिका ३ स्थित लिखु खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् गरी लोड गरिरहेको अवस्थामा सोमवार एउटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको हो ।
लिखु खोलामा अवैध रूपमा बालुवा झिक्ने र ओसारपसार गर्ने कार्य वढेको गुनासो आएको र त्यसकोे निगरानीका आधारमा इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरी टोलीले बा४ख ९९४६ नम्बरको ट्रिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरी अधिकृतको टोलीले उक्त ट्रिपरलाई खोलाबाट अवैध बालुवा लोड गरिरहेकै अवस्थामा नियन्त्रणमा प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले जानकारी दिए । उनका अनुसार नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रण तथा स्थानीय प्राकृतिक स्रोतको संरक्षण गर्ने उद्देश्यले नियन्त्रणमा लिइएको उक्त ट्रिपरलाई आवश्यक कानुनी कारबाहीका लागि लिखु गाउँपालिका कार्यालय भलादमीडाँडामा पठाइएको थियो ।

गाउँपालिकाले स्थानीय ऐन तथा नियम अनुसार अवैध उत्खननमा संलग्न उक्त ट्रिपरलाई १५ हजार रुपैयाँ जरिवाना गराएको प्रहरी निरीक्षक बुढाऐरले जानकारी दिए । स्थानीय नदीनालाहरूबाट अवैध रूपमा ढुंगा, गिट्टी, बालुवा अवैध रुपमा उत्खनन गर्दा वातावरणीय जोखिम बढ्नुका साथै प्राकृतिक स्रोतको दोहन हुने भएकाले प्रहरी र प्रशासनले गैह्रकानुनी गतिविधिमाथि कडा निगरानी राखेर कारवाही गर्न गृहमन्त्रि गुरुङले आइतवार ै निर्देशन दिएका थिए ।
स्थानीय तहहरूसँग समन्वय गरी खोला तथा नदी क्षेत्रमा हुने नदीजन्य सामग्रीको अवैध उत्खननलाई पूर्ण रूपमा रोक्नका लागि नियमित गस्ती तथा कारबाही प्रक्रियालाई सशक्त बनाउनु पर्ने नुवाकोटवासीको माग रहेको छ । नुवाकोटका त्रिशूली, तादी, लिखु, सामरीलगायतका स्थानीय नदीनालाहरुमा अवैध उत्खनन् कार्य वढेको स्थानीयवासीले गुनासो गरेका छन् ।











































