हिमालयन शेर्पालाई पराजित गर्दै एपीएफ क्वार्टरफाइनलमा
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी दोश्रो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलबाट सशस्त्र प्रहरीको (एपीएफ) क्लब अन्तिम क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा-१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगिताको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै एपीएफ विजयी भएको हो । एपीएफको जीतमा निर्णायक गोल हरि कार्कीले गरे । उनले खेलको ३९ औं मिनेटमा गोल गरेका हुन् । हिमालयन शेर्पाका दुई डिफेन्डरलाई छक्याउँदै कार्कीले सुन्दर गोल गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद दशहजार रुपियाँ प्राप्त गरेका थिए ।
खेलपश्चात् प्रतिक्रिया दिँदै सशस्त्रका प्रशिक्षक सुदिप श्रेष्ठले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट नभएको बताए । उनले खेलमा पहिलो हाफ्को तुलनामा दोस्रो हाफ्मा आफ्ना खेलाडीले खेल्न नसकेको र खेलाडीले प्राप्त मौकाको सदुपयोग गर्न नसकेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।
हिमालयन शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले आफ्नो खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । प्रशिक्षक पुडासैनीले माइभ्याली गोल्डकपको फाइनल खेल्ने वित्तिक हेटौंडा आएर खेल खेल्नुपर्दा टिमले उत्साजनक प्रदर्शन गर्न नसकेको बताए । उनले सशस्त्रको डिफेन्डले राम्रो खेलेको भन्दै प्रशंसा समेत गरे ।
सेमिफाइनल प्रवेशका लागि एपीएफले विदेशी टोली दाफिन्सको सामाना गर्नेछ । प्रतियोगिता अन्तर्गत् भोलि नेपाल पुलिस र च्यासल युथ क्लबीच खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल यही चैत १६ गते शनिबार हुने आयोजकले जनाएको छ ।