महिला चलचित्र महोत्सव सुरु
बिदुर – नयां पुस्तालाई प्रेरणा दिने र चलचित्र क्षेत्रलाई समावेशी तथा सशक्त वनाउने उद्धेश्यले ‘महिला चलचित्र महोत्सव’ सन्चालन भएको छ । महिला सशक्तीकरणलाई प्रमुखता दिएर चलचित्र विकास बोर्डद्वारा आयोजित चार दिने महोत्सव मंगलवार सुरु भएको हो ।

सो महोत्सवमा महिला विषयमा आधारित चलचित्र ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शनका साथै अन्र्तक्रिया, सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ । महोत्सवको पहिलो दिन महिला चलचित्रकर्मी सशक्तिकरण समितिको परिचयात्मक भिडियो प्रदर्शन, चलचित्र ‘कुमारी’ का कलाकारहरूसँग विशेष अन्र्तक्रिया, चलचित्र “कुमारी“ प्रदर्शन, अनुभव आदानप्रदान तथा कुमारी चलचित्र टिमको लाइभ पोट्र्रेट प्रस्तुति सम्पन्न भएको वोर्डले जनाएको छ ।

नेपालकी प्रथम नायिका भुवन चन्दको प्रमुख आतिथ्यता सन्चालित महोत्सव उद्घाटनका अवसरमा चैत्यदेवी सिंह, प्रेम बस्न्यात, विष्णुगोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै विभिन्न स्रष्टा, कलाकार, निर्देशक तथा सरोकारवालाबीच अनुभव आदानप्रदान र अन्र्तक्रियाले कार्यक्रमलाई अर्थपूर्ण बनाएको छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र क्षेत्रमा महिलाको भूमिका केवल अभिनयमा सीमित नभई सिर्जना, नेतृत्व, व्यवस्थापन र सामाजिक रूपान्तरणसम्म विस्तारित रहेको उल्लेख गरे । उनले महिला चलचित्रकर्मीहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्नु आजको आवश्यकता भएको बताए ।

उनले यस प्रकारको महोत्सवले नयाँ पुस्तालाई प्रेरणा दिने र चलचित्र क्षेत्रलाई समावेशी, सशक्त र मर्यादित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदान, संघर्ष, सिर्जना र नेतृत्वलाई सम्मान गर्ने यो महोत्सव यहि चैत्र २० गतेसम्म सञ्चालन हुने चलचित्र विकास वोर्डले जनाएको छ ।

































































