महिला चलचित्रकर्मीलाई नारी सम्मान
बिदुर – महिला चलचित्रकर्मीहरुको योगदानको कदर गर्दै नारी सम्मान प्रदलान गरिएको छ । नगद पुरस्कारसहित सम्मानित गरिएको हो । चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्चालित ‘चलचित्रमा नारी’ महिला चलचित्र महोत्सवसमेत सम्पन्न भएको छ । सो महोत्सवको समापनमा नेपालको चलचित्र क्षेत्रमा विशिष्ट योगदान पु¥याएका १० जना महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गरिएको हो ।

चलचित्र विकास बोर्डको हलमा सम्पन्न कार्यक्रममा सम्मानित भएका १० महिला चलचित्रकर्मीमा गौरी मल्ल, ऋचा शर्मा, अञ्जना बराइली, शारदा गिरी, रिना मोक्तान, प्रज्ञा जोशी, देवीका बन्दना, गीता अधिकारी, लक्ष्मी श्रेष्ठ र गौमाया गुरुङ रहेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले पुरस्कारसहित सम्मानित गरेकी हुन् । कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिबाट नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका अग्रज व्यक्तित्व बसुन्धरा भुसाल र चैत्यदेवी सिंहको विशेष आतिथ्यता रहेको थियो । सोही कार्यक्रममा चलचित्र विकास बोर्डका पदाधिकारी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरू, चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो । महोत्सव समापन समारोहमा महिला कलाकारद्वारा नेपाली नौमति बाजासहित आकर्षण सांगीतिक प्रस्तुति गरिएको थियो ।

उक्त अवसरमा देवीका बन्दना, बिन्दु परियार, समीक्षा दाहाललगायतका कलाकारहरूले आआफ्ना गीत प्रस्तुत गर्दै समारोहलाई सांगीतिक उचाई दिएका थिए । सम्मान, संस्कृति र संगीत एकै मञ्चमा मिसिएको उक्त दृश्यले कार्यक्रमलाई विशेष बनाएको थियो । यसैबीच, कार्यक्रममा चलचित्र ‘कुमारी’ का कलाकारहरूको मुहारचित्र हस्तान्तरण तथा ललितकला कलाकारहरूलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।

यसले महोत्सवलाई केवल सम्मान समारोहमा सीमित नराखी, नेपाली चलचित्रको कलात्मक र सांस्कृतिक विरासतसँग जोडिएको बहुआयामिक उत्सवका रूपमा स्थापित गरेको वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ । महिला चलचित्र महोत्सवले नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदान अब केवल स्मरण गर्ने विषय होइन, संस्थागत रूपमा सम्मान गर्ने आधार बनिसकेको सन्देश दिएको छ । अभिनय, गायन, पत्रकारिता, निर्माण, सिर्जना र सांस्कृतिक नेतृत्वका अनेक आयाममा महिलाले पु¥याएको योगदानलाई सरकारीस्तरबाट गरिएको सो सम्मानले नेपाली चलचित्र उद्योगलाई अझै समावेशी, सभ्य र प्रेरणादायी मार्गतर्फ अगाडि बढाएको चलचित्र विकास वामेर्डले जनाएको छ ।






































































