सुरक्षित वैदेशिक रोजगारीको अन्र्तक्रिया
बिदुर – सिप सिकाइमा जोड दिदै नुवाकोटको पन्चकन्या गाउंपालिकामा सुरक्षित वैदेशिक रोजगारी सम्वन्धि अन्र्तक्रिया गरिएको छ । सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जानु पर्ने सो कार्यक्रममा जोड दिइएको छ । “स्वदेशमै रोजगारी गरौँ, वैदेशिक रोजगारमा जाने नै भए सही सुझाव लिएर सिप सिकेर जाऔँ” भन्ने मूल सन्देशसहित पञ्चकन्या गापामा वैदेशकि रोजगारीवाट फर्किएकाहरुसंग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूसँग अभिमुखीकरणसहतिको अन्र्तक्रिया गरिएको हो । पन्चकन्याका स्थानीय तहका विषयगत समिति तथा शाखाहरू (श्रम तथा रोजगार, स्वास्थ्य, सहकारी, न्यायिक समिति, अनुगमन समिति लगायत), सुरक्षित वैदेशिक रोजगारसम्बन्धि सेवा प्रदायक संस्था तथा सरोकारवालाहरूबीच उक्त अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा पञ्चकन्या गापाकी उपाध्यक्ष बिमला पाठककेसीले स्थानीयस्तरमै स्वरोजगार गर्न आग्रह गर्दै त्यसो पनि नसकिए सिप सिकेर र आवस्यक प्रक्रिया वुझेर मात्र वैदेशिक रोजगारीमा जान सुझाव दिइन् ।

कार्यक्रममा पन्चकन्याका प्रमुख प्रशासनिक अधिकृत हिराधन राई, विभिन्न वडाका वडाध्यक्षहरू, वैदेशिक रोजगारीवाट फर्किएकाहरु, शाखा प्रमुखहरू, सुरक्षित आप्रवासन कार्यक्रमका प्रतिनिधि, सर्वसाधारणले नेपालमै स्वरोजगारको कार्यक्रम प्रवद्र्धन गरिनुपर्ने वताए । कार्यक्रममा वैदेशिक रोजगारका अवसर, चुनौती, जोखिम न्यूनीकरण, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारीका उपाय, साथै स्वदेशमै रोजगारी सिर्जना गर्ने सम्भावनाबारे वृहत छलफल गरिएको थियो ।

विदेशबाट फर्किएका जनशक्तिहरुले आफ्ना अनुभवहरू सुनाउंदै अवका पुस्तालाई सचेत र सक्षम बनाउन महत्वपूर्ण सुझावहरूसमेत दिएका छन् । यस प्रकारका कार्यक्रमहरूले स्थानीय स्तरमै रोजगारी प्रवद्र्धन गर्नुका साथै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको छ ।













































