बिउ उत्पादन क्षेत्र निर्धारण
बिदुर – नुवाकोटकका विभिन्न तीन स्थानीय तहमा बिउ उत्पादन क्षेत्र निर्धारण गरिएको छ । खाद्यान्न र तरकारी क्षेत्र निर्धारण गरिएको हो । कृषि विकास कार्यालय, नुवाकोटले बीउ बिजन आत्मनिर्भर कार्यक्रम अन्तर्गत नुवाकोटमा बीउ उत्पादन क्षेत्र निर्धारण गरेको हो ।
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त क्षेत्र तोकिएको हो ।बेलकोटगढी नपा, शिवपुरी र लिखु गापामा बडा छनौट गरिएको हो । कार्यालयका अनुसार बीउ उत्पादन क्षेत्र निर्धारणका लागि जिल्लाका तीन स्थानीय तहका विभिन्न वडालाई छनोट गरिएको कार्यालय प्रमुख श्रीकृष्ण अधिकारीको भनाई छ ।

जसअनुसार शिवपुरी गापाको ५ र ८ मा खाद्यान्न बाली (धान, गहुँ र मकै) उत्पादन गरिनेछ । उता, लिखु गापा. १ र २ तथा बेलकोटगढी नपाको ९ र १३ लाई आलु बाली उत्पादन क्षेत्रका रूपमा निर्धारण गरिएको अधिकारीले वताए । बीउ उत्पादन क्षेत्र निर्धारणसँगै किसानलाई उन्नत तथा गुणस्तरीय बीउ उत्पादनतर्फ आकर्षित गर्दै कृषि क्षेत्रमा आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्य लिइएको कृषि विकास कार्यालयले जनाएको छ । साथै सम्बन्धित क्षेत्रका किसान तथा सरोकारवालालाई यस कार्यक्रममा सहभागिताका लागि अनुरोध गरिएको कार्यालयले जनाएको छ ।










































